प्राङ्गारिक कृषि उपजको बजार बढ्दै गएकोले त्यसको उत्पादन पनि बढाउनु पर्नेमा जोड दिईएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा विश्वसंगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि बस्तुको माग बढ्दै गएको जानकारी गराईएको हो ।
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि बस्तुको बजार पनि बढ्दै गएको बताउनु भयो । उहाँले अहिले भईरहेको प्राङ्गारिक उत्पादनले बजार माग पुरा गर्न नसकेको बताउँदै प्राङ्गारिक उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषि उपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने भनाई राख्नुभयो ।
प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि हो । यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि रहन्न । तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणिकरणको प्रवन्ध मिलाउनु पर्ने किसानहरुको मत छ । प्राङ्गारिक प्रमाणिकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनु पर्ने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसंग कृषिको कुनै प्रकारको तथ्यांक नभएको बताउँदै यसले कृषिको व्यवसायिक विकास हुन नसक्ने भनाई राख्नुभयो । उहाँले पछिल्लो समय अर्गानिक बस्तुको बजार बढेकाले किसानलाई अर्गानिक उत्पादनमा प्रोत्साहन गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तरक्रियामा उठेका कुराहरुलाई लिपिवद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताउनु भयो । उहाँले कृषिलाई प्रवद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशिलतासंगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवद्र्धनको लागि संघले पहलकदमी लिईएको जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका कृषि परामर्शदाता डा. प्रदिप शर्मा पौडेल, हेफर इन्टरनेशनलका एशोसियट डाईरेक्टर डा. राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई लगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वस्थ्यकर खाद्य बस्तुको उत्पादनमा जोड दिनुपर्ने भनाई राख्नुभएको थियो । मानिसमा हुने अधिकांश सर्ने तथा नसर्ने रोग अस्वस्थ्यकर खानाको कारणले हुने र स्वस्थ्यकर खाना उपलब्ध हुन सक्यो भने रोग पनि नलाग्ने भएकाले स्वस्थ खाद्य बस्तु उत्पादनमा जोड दिईएको हो ।
कृषि मेलाको अवसरमा यस अगागि प्राङ्गारिक खेती हालसम्मको प्रयास, उपलब्धी र अवको बाटो, जीवनासक विषादी प्रयोग प्रभाव र विकल्प, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन र बजारीकरणको अवस्थाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गरिएको संघका कार्यसमिति सदस्य तथा तालिम गोष्ठि समितिका संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।