निजी क्षेत्रको लगानीमा निर्माण गरिएको ‘एक्स्ट्राटेक ओभल’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सञ्चालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ पूर्वदरखसवामा निर्मित क्रिकेट मैदानको सोमबार उद्घाटन गरिएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा योगदान पु¥याएका पूर्व क्रिकेटर सहभागी चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड्स कप आयोजना गरि उक्त मैदानको शुभारम्भ गरिएको हो । सोमबार बिहान लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गर्नुभयो भने दिउँसो एक्स्ट्राटेक लेजेन्ड्स कप प्रतियोगिता गरियो ।
वैदेशिक रोजगारीको लागि अष्ट्रेलियामा रहेका गुल्मीका विनोद कुँवरको एकल लगानीमा रंगशाला निर्माण गरिएको हो । गत जेठमा शिलान्यास गरिएको रंगशालामा मैदान तयार भएपछि एक्स्ट्राटेक लेजेन्ड्स कप आयोजना गरेर मैदानको उद्घाटन गरिएको हो ।
एकाडेमिक सहितको रंगशालाको सबै पूर्वाधार तयार हुँदा ४० करोड रुपैंया लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिव साढे ६ विगाहा जग्गामा मैदान तयार गरिएको छ भने एकाडेमिक भवन, विद्यार्थीको छात्रावास, २५ हजार क्षेमताको प्याराफिट समेत तीन वर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको कुवँरले बताउनु भयो ।
सोमबार भएको एक्स्ट्राटेक लेजेन्ड्स कपको उपाधी सन् २०१४ विश्वकप लिजेन्ड्सले प्राप्त गरेको छ । पूर्वकप्तान पारस खड्काले प्रदर्शनमा अर्का पूर्वकप्तान विनोद दास नेतृत्वको रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधी सन् २०१४ विश्वकप लिजेन्ड्सले प्राप्त गरेको हो ।
प्रतियोगितामा चार टिमको सहभागितामा १०–१० ओभरका तीन खेल भएका थिए । उद्घाटन खेलमा सन् २०१४ लिजेन्ड्सले लिजेन्ट्स १९९६ लाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा रेष्ट अफ नेपालले रुपन्देही लिजेन्ट्सलाई हराएको थियो ।