बुटवलमा रोटरीको डिष्ट्रिक कन्फ्रेन्स : तयारी पुरा

1.3K

बुटवलमा रोटरीको डिष्ट्रिक कन्फ्रेन्स : तयारी पुरा

भोलीदेखि बुटवलमा रोटरीको डिष्ट्रिक कन्फ्रेन्स हुदैछ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको तयारी पूरा भएको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
बुटवलको रामनगरमा रहेको बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ३ दिन सम्म चल्ने डिष्ट्रिक कन्फ्रेन्समा नेपाल र भुटानमा रहेका क्लवमा आवद्ध १ हजार ७ सय सदस्यहरुले नाम दर्ता गराईसकेको डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले जानकारी गराउनु भयो । यो संख्या अझै थपिने उहाँले बताउनु भयो ।
सम्मेलनमा नेपाल सहित रोटरीले विश्वभरी सञ्चालन गरेका परियोजना र तिनको प्रभावका बारेमा जानकारी गराईने छ । त्यस्तै रोटरी क्लव, रोट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लवले गरेका सेवामूलक परियोजनाका बारेमा पनि छलफल गर्नुका साथै ती परियोजनाले समुदायमा पारेको प्रभाव र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
त्यसबाहेक रोटरीले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरु वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शान्ति तथा द्वन्द्व व्यवस्थापन, महिला सशक्तिकरण एवं नेतृत्व विकास लगायतका विषयमा पनि रोटरी तथा रोटरीभन्दा बाहिरका विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचार प्रस्तुत गर्ने कार्यक्रम चय गरिएको छ ।
सम्मेलनको उद्घाटन सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महाशेठले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनको तयारीको लागि १५ वटा कन्फ्रेन्स कमिटी र २५ वटा कार्यक्रम कमिटी गठन गरिएको थियो । जसले तयारीका काम गरिरहेका छन् ।