प्रचण्डलाई शेखरको जवाफ – काँग्रेस माओवादीको पुच्छर होईन

1.3K

प्रचण्डलाई शेखरको जवाफ – काँग्रेस माओवादीको पुच्छर होईन

नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई काँग्रेस माओवादी केन्द्रको पुच्छर नभएको जवाफ दिनुभएको छ ।
कोशीको सरकार गठन, काँग्रेस महासमिति बैठक लगायतमा भएका निर्णयलाई लिएर गठबन्धन बदल्नु परेको प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिनीधि सभा सदस्य समेत रहनु भएका वरिष्ठ नेता कोईरालाले भन्नुभयो–‘हामीले हाम्रो अनुकुल निर्णय लिने हो, उहाँहरुले भनेजस्तो गर्नलाई हामी माओवादीको पुच्छर होईन ।’
जीपि कोइराला स्मृति प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरमा निर्माण गर्न लागिएको भवनको बुधबार शिलान्यास गर्दै उहाँले कोशीमा गठबन्धनको सरकार बन्न नसकेपछि संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको र २०८४ को निर्वाचनको विषयलाई लिएर निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयले अहिलेको गठबन्धनमा कुनै समस्या नहुँदा पनि त्यसलाई निहुँ मात्रै बनाएको उहाँले दावी गर्नुभयो ।

उहाँले शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने विषयलाई प्रधानमन्त्री दाहालले सत्ताको मोलमोलाई गर्ने भाँडो बनाएको पनि आरोप लगाउनु भयो । २०६२ मा माओवादीलाई शान्ति प्रकृयामा ल्याएपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रकृयाका धेरै कुराहरु टुङ्ग्याईएपनि मुख्य काम सत्यनिरुपण तथा मेलमिलापको विषयलाई प्रधानमन्त्री दाहालले सत्ताको मोलमलाई गर्ने अस्त्रका रुपमा प्रयोग गरिएको आरोप लगाउनु भएको हो ।
त्यसैगरी उहाँले प्रधानमन्त्रीलाई गृहमन्त्री रबी लामिछानेलाई बचाउनु पर्ने कारण के हो ? भनी प्रश्न गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले गृहमन्त्रीलाई सरकार ढल्छकी भनेर मात्रै बचाएको नभएर त्यस भित्र अरु पनि रहस्य हुनसक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले राजनीति गर्ने व्यक्तिमा नैतिकता पनि हुनुपर्ने बताउँदै गृहमन्त्री लामिछानेमा नैतिकता छ भने पदबाट तत्कालै राजीनामा गर्न आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले पार्टीलाई बलियो बनाउनको लागि आन्तरिक पार्टीमा सहमति, सहकार्य र एकतामा जोड दिनुभयो । उहाँले पार्टीका नेता कार्यकर्ता एकढिक्का हुने हो भने नेपाली काँग्रेसलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गर्नुभयो ।

त्यस अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले देशको लोकतन्त्रको स्थापना र देशका लागि स्व. गिरिजाप्रसाद कोइरालाले गरेको योगदानलाई जिवित राख्नको लागि उहाँको नाममा बुटवल उपमहानरपालिका वडा नं. १२ तामनगरमा करिव ४ कठ्ठा जग्गा प्राप्त गरिएको र त्यसमा भवन निर्माण गर्न लागिएको जानकारी गराउनु भयो । उक्त भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका, वडा नं. १२ बाट केही बजेट विनियोजन भएको जानकारी गराउँदै जतिसक्दो चाँडो भवन निर्माण गरेर बहुउपयोगि बनाईने जानकारी गराउनु भयो ।
त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु अब्दुल रज्जाक, डा. गोविन्द पोखरेल, गंगा शाही, लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुन, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, प्रतिनीधि सभाका पूर्व सदस्य प्रमोद यादव, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका सल्लाहका विष्णु पोखरेल लगायतले भनाई राख्नुभएको थियो ।