बुटवलका मासु पसलमा अनुगमन : अधिकांशमा सडेगलेका मासुको विक्रिवितरण

1.3K

बुटवलका मासु पसलमा अनुगमन : अधिकांशमा सडेगलेका मासुको विक्रिवितरण

बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाइएको हो ।
मनपरी गर्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनु भयो । उहाँले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम भइरहेको बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, व्यापार संघका प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहो¥याएमा थप कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
उहाँका अनुसार मासु पसलहरुले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ । उहाँले पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।
पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनु भयो । उहाँले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताउनु भयो ।
अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई पालना नगरेमा कारबाही अगाडि बढाइने बताउनु भयो ।