रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा क्लवका संस्थापकहरुलाई सम्मान गरिएको छ । क्लवको १३ औं स्थापना दिवसको आवररमा बिहिबार साँझ आयोजना गरिएको चाटर्ड नाईट सेरेमोनीमा क्लवका संस्थापकहरु कृष्णप्रसाद शर्मा, नवीन श्रेष्ठ, निरन्जन पोख्रेल, गोपाल घिमिरे र बालकृष्ण अर्याललाई सम्मान गरिएको हो । क्लवका संस्थापकहरुलाई अध्यक्ष निरज श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
काठमाण्डौको रोटरी क्लव अफ मञ्जुश्री जावलाखेलको स्पोन्सरमा सन् २०१२ मा २५ जना संस्थापक सदस्यबाट क्लव स्थापना गरिएको थियो । क्लवमा हाल ५ जना संस्थापक सदस्यहरु रहेको क्लवका सचिव शंकर पाण्डेले जानकारी गराउनु भयो । उहाँका अनुसार क्लवको स्थापनापछि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।
क्लवले सिग्नेचर प्रोजेक्टको रुपमा विद्यालय पेन्टिङ् गर्दै आएको छ । यो प्रोजेक्ट अन्तरगत प्रत्येक वर्ष ग्रामिण क्षेत्रमा रहेको स्रोत साधनले विपन्न रहेको सरकारी विद्यालयमा पेन्टिङ गर्ने गरिन्छ । यो वर्ष जाजरकोटको ग्रामिण विद्यालयमा पुगेर विद्यालय पेन्टिङ सहित २ लाख रुपैंया बढीको डेस्क वेञ्च वितरण गरिएको थियो ।
कार्यक्रममा रोटरीका एसिस्टेन्ट गभर्नर, क्लवका पूर्वअध्यक्ष कृष्णप्रसाद शर्माले १२ वर्षको अन्तरालमै क्लव डिष्ट्रिकमा बलियो क्लवको रुपमा स्थापित भएको बताउँदै रुपन्देही जिल्लामै ४/५ वटा क्लव भित्रै पर्ने जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वअध्यक्ष नवीन श्रेष्ठ, ईलेक्ट प्रेसिडेन्ट देवीराम पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।
