प्रगतिनगर विद्युत सहकारी संस्थाको साधारणसभा सम्पन्न

1.3K

प्रगतिनगर विद्युत सहकारी संस्थाको साधारणसभा सम्पन्न

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेड बुटवलको सातौ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको शनिबार एक कार्यक्रमकाबीच सामुदायिक विद्युत सहकारी संस्था महासंघका सचिव यमबहादुर पछाईले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै महासंघका सचिव पछाईले सामुदायिक बिद्युत बितरक संस्था मार्फत प्रदान गरिने सेवा प्रभावकारी भएको दाबी गर्नुभयो । कुशल ब्यवस्थापन भएमा समुदाय स्तरबाट गरिने हरेक कार्य प्रभावकारी हुने भन्दै उहाँले सामुदायिक बिद्युत सहकारी संस्थाबाट भएका सेवा पनि प्रभावकारी देखिएको बताउनु भयो ।
प्रगतिनगर सामुदायिक बिद्युत सहकारी संस्थाका अध्यक्ष जितबहादुर मल्लले बार्षिक प्रतिवेदन पेस गर्दै ऐन, कानुनको अभावमा सामुदायिक विद्युतीकरण कार्यक्रममा समस्या भएकाले औंल्याउँदै त्यसतर्फ ध्यान दिन महासंघ र सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो प्रतिवेदनमा संस्थाले वर्षभरी गरेका कार्यक्रम सहित विद्युतको नियमितता र छिटो छरितो मर्मत सम्भार हुने भएकाले सामुदायिक विद्युतको सेवा सेवाग्राहीलाई प्रभावकारी हुने भनाई राख्नुभयो । त्यस्तै यो संस्थाले सडक वत्तिको शुल्क निशुल्क गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष मल्लले प्रस्तुत गरेको वार्षिक तथा कोषाध्यक्ष नारायण सारूले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक राजेशबहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी कार्यपालिका सदस्य हेमा थानी, बुटवल उपमहानगरपालिका वडा नं ११ कि वडा सदस्य माया दर्नाल, संस्थाका उपाध्यक्ष कैलाश बहादुर खड्गी, सचिव गोपाल केसी लगायतले सामुदायिक बिद्युत सहकारी संस्थाको भुमिका र महत्वबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

त्यसै अवसरमा संस्थाले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।