बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित हार्डवेयर बस्तुगत समितिले प्रकाशन गरेको क्यालेण्डर विमोचन गरिएको छ । शनिबार संघको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बस्तुगत समितिले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसायीका समस्या समाधानका लागि संघले पहलकदमी लिईरहेको भनाई राख्नुभयो । उहाँले बुटवलको व्यापार व्यवसायलाई विस्तापित नहोस भन्नकै लागि बुटवलका मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापन र घर बहाल घटाउनको लागि पहल भईरहेको जानकारी गराउनु भयो । उहाँले व्यवसायीका अन्य नीतिगत समस्या समाधानका लागि स्थानीय सरकारसंग र प्रदेश तथा संघीय सरकारले गर्ने कामका लागि महासंघको प्रदेश र केन्द्रमा पहल गरिँदै आएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजूले उद्योगी व्यवसायीका समस्या एकपछि अर्कोगर्दै आईनै रहने बताउँदै एकपछि अर्को गर्दै समस्याको पनि समाधान गर्दै अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो । उहाँले कतिपय कार्यसमितिमै भएका व्यक्तिहरुले पनि गुनासो गर्ने प्रबृत्ति रहेको बताउँदै समाधान गर्ने ठाउँमा बसेका व्यक्तिले त्यसरी गुनासो नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा हार्डवेयर बस्तुगत समितिका सभापति राजन पाण्डेले अहिलेको आर्थिक अवस्थाको कारण सबैभन्दा बढी हार्डवेयर व्यवसायी समस्यामा परेको भन्दै यसलाई कसरी समाधान गर्न सकिएर सबैले सोच्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, बस्तुगत समितिका सल्लाहकार तथा संघका पूर्व उपाध्यक्ष जयप्रकाश गुप्ता, संघका कार्यसमिति सदस्य तथा हार्डवेयर बस्तुगत समितिका पूर्वसभापति दीपकप्रसाद चापागाई, संघका कार्यसमिति सदस्य तथा हार्डवेयर बस्तुगत समितिका समन्वयकर्ता गणेशप्रसाद भट्टराई लगायतले शुभकामना राख्दै सुस्ताउदै गरेको आर्थिक कृयाकलापलाई उठाउन संघले भूमिका खृल्नुपर्ने भनाई राख्नुभयो । कार्यक्रम बस्तुगत समितिका उपसभापति धर्मेन्द्र कसौधनको धन्यवाद तथा सचिव रामजी नेपालको सञ्चालनमा भएको थियो ।