सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहका पार्षदहरुका लागि आयोजित सुशासन तथा क्षमता अभिबृद्धि अन्तर्गत वन संरक्षण, जलवायु परिवर्तन तथाकार्वन ब्यापार समवन्धी सचेतना कार्यक्रममा वोल्ने वक्ताहरुले स्थानीय वासीको जीविकोपार्जनमा सामुदायिक वनले विशेष टेवा पुर्याएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा वनका वरिष्ठ सल्लाहाकार लिला गिरीले वन जंगलबाट प्राप्त हुने स्रोतहरुको उचित संरक्षण र सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सामुदायिक वनहरु काठ दाउराको विक्रीवितरणमा मात्र सिमित नभएर जडिवुटी, डाले घाँस खेती, पर्यटकीय हिसावले विकास गर्दै वनलाई उत्पादनसंग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकेमा युवालाई विदेश पलायन हुनवाट रोक्न सकिने बताउनु भयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले पृथ्वीको वायुमण्डलमा तापक्रम घट्ने वा वढ्ने प्रक्रियाका कारणले गर्दा जलवायु परिवर्तन हुने हुनाले यसको न्युनिकरणका लागि वन विनास, औद्योगिकीकरण, वन डढेलो, इन्धनको वढ्दो प्रयोग तथा शहरीकरणलाई कम गर्नुपर्ने वताउनु भयो । उहाँले विकसित देशकातुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा ठूलो असर देखा परेको बताउनु भयो ।
सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले समूहका पार्षदहरुको क्षमता अभिबृद्धि र वन संरक्षण, जलवायु परिवर्तन र कार्वन ब्यापार सम्वन्धमा जानकारी गराउने उद्देश्यले समूहको वार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सोमबार र मंगलबार दुई दिनसम्म संचालन हुने सचेतना कार्यक्रममा डिभिजन वन प्रमुख प्रभात सापकोटा र सहायक वन अधिकृत सूर्यप्रसाद मैलालीले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा ३११ जना पार्षदहरुको सहभागिता रहेको वनका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा समूहका सल्लाहाकार खिमानन्द भट्टटराई, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी लगायतले वन संरक्षण र जलवायु परिवर्तनका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।