लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने तयारी गरिरहँदा सरकार गठन अघि भएको सहमति कार्यान्वयनको दवावमा पर्नुभएको छ ।
मुख्यमन्त्री महराले आज शुक्रबार विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । यहि चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि आज शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको छ ।
नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका महरालाई बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
महराले विश्वासको मत लिनु अगाडि सरकार गठन अगाडि भएको सहमति कार्यान्वयन गर्न एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दवाव बढाएका हुन् । सरकार गठनका बेला भएको सहमिति अनुसार मन्त्रालयको संख्या कम भएकाले मुख्यमन्त्री मन्त्रालय बढाएर भएपनि सहमति कार्यान्वयन गर्ने पक्षमा रहेपनि मन्त्रालयको संख्या नबढाउनको लागि एमालेको दवाव छ ।
सरकार गठन हुँदा नेकपा एक जना सांसद रहेको एकीकृत समाजवादीलाई पनि एउटा मन्त्रालय लिएर सरकारमा सहभागी गराउने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ । मुख्यमन्त्री महराले एकीकृत समाजवादी र स्वतन्त्र सांसदलाई आलोपालो मन्त्री बनाउने रणनीति लिएपछि सो पार्टीले दवाव बढाएको हो । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले सहमित अनुसार दुईवटा मन्त्रालय नदिए विश्वासको मत नदिने बताएको छ ।