नेपाल आयल निगमले केही वर्ष अगाडि खरिद गरेको जग्गा व्यवस्थित तथा तारबारको काम सुरु गरेको छ । निगमले रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माणको लागि खरिद गरेको १४ विगाहा जग्गामा सम्याउने तथा रिटेनिङवाल निर्माणको काम सुरु गरेको हो ।
नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ । रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम हुनुका साथै घना बस्तिको विचमा रहेको र पटक पटक आगलागि भएपछि निगम त्यसलाई सार्नुपर्ने दवावमा छ ।
बुधबार एक औपचारिक कार्यक्रमबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जीतकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा दुवै गाउपालिका अध्यक्षले भण्डारण गृह निर्माण तथा सञ्चालनमा स्थानीय सरकारले पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताउनु भयो । ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले जानकारी गराउनु भयो ।
उहाँका अनुसार यो भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारण गर्न सकिने छ । डिजेल भण्डारका लागि २१ सय किलोलिटरका तीन वटा, पेट्रोल भण्डारणका लागि १६ सय किलो लिटरका दुई वटा र मट्टितेल भण्डारणका लागि ७ सय किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिने छ ।
अवको तीन महिना भित्रमा नदिमा तटबन्ध गर्ने र जमिन सम्याउने काम सम्पन्न गरिने जानकारी दिंदै संयोजक यादवले २०८३ भित्रमा निर्माण सम्पन्न गरी हालको भलबारी डिपो सो स्थानमा सारिने बताउनु भयो । संयोजक यादवले भन्नुभयो– ‘आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।’
निगमका प्रबन्धक रामहरी निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भविष्यमा भारतीय आयल कर्पोरेसनसँगको सहकार्यमा भण्डारण गृहसँगै प्राकृतिक ग्यासबाट रासायिनक मल उत्पादन कारखाना पनि स्थापना गर्ने लक्ष्य रहेको निरौलाले बताउनु भयो ।