प्रेस राज्यको प्राथमिकतामा छैन : अध्यक्ष पोखरेल

16

प्रेस राज्यको प्राथमिकतामा छैन : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस राज्यको प्राथमिकतामा नपरेको बताउनु भएको छ । राज्यले आफैले बनाएको प्रेस सम्बन्धि कानुन कार्यान्वयनलाई समेत प्राथमिकता नदिएको आरोप लगाउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको शनिबार सम्पन्न १२ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयनमा सरकारले चासो नदेखाएको बताउँदै भएका ऐन कार्यान्वयन पनि नगर्ने र आवश्यक ऐन ल्याउन पनि आनाकानी गर्ने प्रवृत्ति देखिएको बताउनु भयो । उहाँका अनुसार प्रेस सम्बन्धि कतिपय बनेर पाईपलाईनमा भएका ऐनहरु पनि रोकिईरहेका छन् ।
उहाँले न्यूनतम परिश्रमिक ऐन कार्यान्वयन नुहुनु श्रमजीवि पत्रकारका लागि दुःखद रहेको भनाई राख्नुभयो । प्रेसलाई नियन्त्रण गर्ने र दुरुपयोग गर्ने दुबै प्रकारका सोंच पत्रकार र सञ्चारगृहका लागि पनि खतरनाक हुने भनाई राख्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीले साधारण सभाको अवसरमा विभिन्न पुरस्कार समेत प्रदान गरेको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७९ पत्रकार कपिल ज्ञवाली र टोपराज शर्मा तथा सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार दीपक घिमिरे तथा खेमओमी महिला ससक्तिकरण पत्रकारिता पुरस्कार शारता मल्ललाई प्रदान गरेको हो । उनीहरुलाई महासंघका अध्यक्ष पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सम्मान सहित पुरस्कार प्रदान गर्नुभएको थियो । उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी ५० हजार रुपैंया, सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कारको राशी ५ हजार रुपैंया र खेमओमी महिला ससक्तिकरण पत्रकारिता पुरस्कारको राशी २१ हजार रुपैंया रहेको छ ।
महासंघ रुपन्देहीले दिवंगत भएका पत्रकारलाई पनि मरणोपर्यन्त सम्मान गरेको छ । महासंघले स्व. प. बाबुराम भट्टराई, स्व. टिकाराम न्यौपाने, स्व. डायलसन अधिकारी, स्व. बसन्त पोखरेल, स्व. खेम परिश्रमी, स्व. सुर्य श्रेष्ठ आजाद, स्व. टेक मास्की राना र स्व. नरबहादुर (एन.वि.) कंडेललाई मरणोपर्यन्त सम्मान गरिएको हो । महासंघले स्वर्गीय भएका परिवारका सदस्यहरुलाई जनही ५ हजार रुपैंया सहित सम्मान गरेको हो । त्यस्तै पूर्व अध्यक्षहरु र प्रेस स्वतन्त्रता सेनानीहरुलाई पनि सम्मान गरिएको छ ।