केही दिन तातो हावाको सम्भावना

41

केही दिन तातो हावाको सम्भावना

तराईमा अत्यधिक गर्मीसंगै केही दिनसम्म तातो हावा (तातो लहर)को सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यससंग बँच्नको लागि महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
महाशाखाले आईतबार साँझ विशेष बुलेटिन जारी गर्दै तराईका भू–भागहरूमा अत्यधिक गर्मिसंगै ५ दिनसम्म सम्भावित तातो हावा तथा तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन परामर्श गरेको हो । महाशाखाका अनुसार यहि २१ गतेसम्म हिट वेभ (तातो हावा)को सम्भावना देखिएको छ ।
त्यस्तै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।
हिट वेभ (तातो लहर)का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने तथा बान्ता समेत हुने भएकाले यसबाट बँच्न घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा नजाने, घाममा नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने गर्नुपर्दछ ।