तत्काल निजामती सेवा ऐन नआए आन्दोलनमा जाने निजामती कर्मचारी युनियनको चेतावनी

45

तत्काल निजामती सेवा ऐन नआए आन्दोलनमा जाने निजामती कर्मचारी युनियनको चेतावनी

नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले तत्काल संघीय निजामती सेवा ऐन नल्याए आफूहरु आन्दोलनमा जान बाध्य हुने बताउनु भएको छ । तत्काल निजामती कर्मचारी सेवा ऐन आएन भने युनियन आन्दोलनमा जाने बताउँदै त्यसको लागि तयारीमा रहन युनियनमा आवद्ध देशभरका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
यो ऐन नआउँदै कर्मचारीको बृत्तिविकास रोकिएको, सरुवा बढुवामा समस्या भएको लगायतका धेरै समस्या रहेको बताउँदै समस्या समाधानमा केन्द्रीत हुन सरकारको ध्यानाकर्षण गराउनु भयो । पाईपलाईमा रहेको उक्त ऐनमा पनि कर्मचारी समायोजनको विषयलाई करेक्सन गर्नुपर्ने बताउँदै उहाँले त्यतिबेला के कस्तो हो केही नबुझी समायोजनमा गएकाले एक पटक पुनःविचारको मौका दिनुपर्ने भनाई राख्नुभयो ।
संघीय निजामति सेवा ऐेनमा आफूहरुको दवावका कारण केही कुराहरुमा सुधार भएपनि अझै धेरै कुराहरु सुधार गर्नुपर्ने रहेको जानकारी गराउनु भयो । त्यस्तै स्थानीय तहका कर्मचारीमा पनि धेरै समस्या रहेको बताउँदै त्यसलाई समेत सम्बोधन गर्नेगरी ऐन ल्याउनु पर्ने भनाई राख्नुभयो ।
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देही बुटवलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जहाँ सरकार त्यहा ट्रेड युनियन अधिकार, सरुवा बढुवालाई वैज्ञानिक बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
स्थानीय तहबाटै प्रमुख प्रशासकीय अधिकृत बनाउने या संघबाट पठाउने भन्ने विषय पनि अहिले पेचिलो बनेको बताउँदै उहाँले सधै माथीबाट जानुपर्छ भन्ने कुरामा आफूहरु नभएको भनाई राख्नुभयो । उहाँले स्वास्थ्यलाई पनि निजामती सेवामै एकीकृत गर्नको लागि पहल भएपनि स्वास्थ्यका साथीहरुले आफूहरु स्वास्थ्य सेवा ऐन अन्तरगत नै रहन चाहेकाले त्यो नभएको जानकारी गराउनु भयो ।
कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले २०७५/८/२३ मा आएको कर्मचारी समायनेजनलाई एक पटक पुनर्विचारको अवसर दिईनु पर्ने, जहाँ सरकार त्यहा ट्रेड युनियन अधिकार, सरुवा बढुवालाइ वैज्ञानिक बनाउनु पर्ने भनाई राख्नुभयो ।
युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वली, पुरन गुरुङ, महासचिव जगतबहादुर रावल, उपमहासचिव इन्दु शर्मा, सचिव भुपेन्द अधिकारी, प्रकाश भट्टराई, कोषाध्यक्ष प्रयास घिमिरे लगायतले आउदै गरेको निजामति कर्मचारी सेवा ऐनको मुख्यगरी परिभाषा, पदपुर्ती, ट्रेड युनियन अधिकार र समायोजनका विषयलाई नै सुधार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँहरुले ट्रेड युनियन, नेता तथा राज्य संयन्त्र प्रति नागरिकको नकारात्मक धारणा बनेको बताउँदै कर्मचारी हो भनेर परिचय दिन सक्ने स्थिति नभएको बताउँदै त्यसलाई कसरी सुधार गर्न सकिएला भनी सुझाव माग्नु भएको थियो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन रुपन्देहीका कार्यवाहक अध्यक्ष भोजप्रसाद न्यौपाने, युनियनका जिल्ला उपाध्यक्ष टेकराज पन्थी, सचिव बालकृष्ण कंडेल लगायतले भनाई राख्नुभएको थियो ।