लक्ष्मीनगर विकास केन्द्र बुटवलमा नयाँ कार्यसमिति चयन

31

लक्ष्मीनगर विकास केन्द्र बुटवलमा नयाँ कार्यसमिति चयन

बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा खानेपानीको समस्या समाधानमा काम गर्दै आएको लक्ष्मीनगर विकास केन्द्र बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा भएको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले गोकर्ण ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गंगा पन्थी, महासचिवमा दुर्गा सिग्देल, सचिवमा निर्मला गुरुङ र कोषाध्यक्षमा खेमबहादुर थापालाई चयन गरेको हो । त्यसैगरी निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने व्यवस्था अनुसार कार्यसमिति सदस्यमा निवर्तमान अध्यक्ष परमानन्द भट्टराई, शंकरप्रसाद गैरे, सुधा गुरुङ, शंकर शर्मा ज्ञवाली, लक्ष्मी श्रेष्ठ, इन्द्रबहादुर थापा, कमल न्यौपाने, दिलु क्षेत्री, मिरा पौडेल पराजुली र शंकर पुनलाई चयन गरिएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले लक्ष्मीनगर विकास केन्द्रले नगरपालिका र वडाले गर्ने काम गरेको भन्दै त्यसको सक्रियताले स्थानीय सरकारलाई त्यस क्षेत्रमा काम गर्न पनि सहज भएको बताउनु भयो । उहाँले विगतमा लक्ष्मीनगर क्षेत्रमा खानेपानीको निकै समस्या रहेको र संस्थाको सक्रियताकै कारण केही भएपनि सहज भएको आफूले पनि महशुस गरेको बताउँदै थप समस्या आउन नदिनको लागि नगरपालिकाबाट विनियोजन भएको योजना समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थायीय स्तरमा जनताका विकासका आवश्यकता धेरै रहेको बताउँदै स्थानीय आवश्यकताको सम्मान गरी स्रोतको उपलब्धताको आधारमा प्राथमिकता निर्धारण गरी काम गर्दै आएको भनाई राख्नुभयो ।
त्यस अवसरमा संस्थाका सल्लाहकार तथा पूर्व वडा अध्यक्ष टंकप्रसाद पराजुली, निवर्तमान अध्यक्ष बाबुराम ढकाल, सल्लाहकार शरद वली, वडा सदस्य अरुणकुमार श्रेष्ठ, बन समितिका सर्वजित केसी, लक्ष्मी श्रेष्ठ, शिला भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।
त्यसैअवसरमा स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान तथा जेष्ठ नागरिक तिलकुमारी घिमिरे र देवीराम पन्थीलाई सम्मान गरिएको छ । त्यसैगरी लक्ष्मीनगरमा रहेका ५ वटा टोलविकास संस्थामध्ये कार्यमुल्यांकनमा प्रथम भएको लक्ष्मीनगर टोलविकास संस्था ग, द्वितीय भएको कञ्चन टोलविकास संस्था र तृतीय भएको लक्ष्मीनगर टोल विकास संस्था क लाई क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी विभिन्न समितिमा रहेर काम गरेकालाई पनि सम्मान गरिएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष परमानन्द भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चित्रबहादुर आलेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको छ । बुटवलको सबैभन्दा उचाईमा रहेको खानेपानी समस्या समाधानका लागि पहिलेदेखि नै संस्था क्रियाशिल भएपनि २०६२ सालमा औपचारिक दर्ता गरी व्यवस्थित गरिएको संस्थाका अध्यक्ष भट्टराई बताउनु हुन्छ । अहिले भने यो संस्था खानेपानीको व्यवस्थापन मात्रै नभएर स्थानीय विकासका काममा नेतृत्वदायी भूमिकामा छ ।