नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सुधारको सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भएको छ । उहाँले पार्टीको जिम्मेवारीमा रहँदा जनप्रतिनीधि वा मन्त्री भएर काम गर्दा जानेर वा नजानेर आफैबाट गलत निर्णय हुँदा त्यसको पार्टीलाई पनि कमजोर बनाएको बताउँदै त्यसको सुधारको लागि जहाँ जहाँबाट गलत भएको त्यहीबाट सुधारको सुरुवात हुनु पर्ने बताउनु भएको हो ।
यो सुधारको काम भयो भने मतदातालाई आकर्षित गर्न सकियो भने आगामी निर्वाचन २०८४ मा काँग्रेसलाई कसैले तलमाथी गराउन नसक्ने बताउनु भयो । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलन तथा सम्मान कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएको नेता खड्काले इलाम र बझाङको चुनावबाट पाठ सिकेर अघि बढ्नुपर्ने समेत बताउनुभयो । उहाँले दुबै चुनावमा ०७९ सालमा पाएको मत सुरक्षित गरेको र बढाउन नसकेको उल्लेख गर्नुभयो ।
उपसभाति खड्काले पार्टीलाइ नयाँ बेगबाट अघि बढाउने कुरामा सबैले संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रणाली पनि सुधार हुनुपर्ने भन्दै संविधान संशोधनको प्रक्रियामा जान आवश्यक भएको उल्लेख गर्नुभयो ।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश अध्यक्ष जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवन्द्रराज कण्डेल, केन्द्रीय सदस्यहरु भरत शाह, नैनसिंह महर, अब्दुल रज्जाक लगायतका मुस्लीम संघसंस्थाका अगुवा तथा नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यस अवसरमा उक्त समुदायबाट जनप्रनिधीमा निर्वाचित तथा विशिष्ट सेवामा रहेका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।