प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनु भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि गरेको आरोप लगाई संसदीय छानविन समिति गठनको माग गर्दै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई वेलमा घेरेर प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भएको हो ।
वेल घेराउ गरेका विपक्षी दलका सांसदहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भएको हो । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड मर्यादा पालकको साहारामा भिड छिचोल्दै रोष्टमसम्म पुग्नु भएको थियो । रोस्टमबाट प्रधानमन्त्रीले दाहालले सम्भोदन गर्दा समेत मर्यादापालकले चारैतिरबाट घेरेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने आरोप लगाउँदै काँग्रेसका लागि यो चर्को हुने चेतावनी दिनुभयो ।
सोमबार बसेको प्रतिनीधि सभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये प्रधानमन्त्री दाहालले मागेको विश्वासको मतको पक्षमा १५७ सांसदले मतदान गरेका छन् । एक जनाले नो भोट गरेका छन् भने विपक्षमा शुन्य रहेको छ ।
संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरुले नारावाजी जारी राखेपछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले जारी राखेको नारावाजीका बिच सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिनुभयो । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोल्नु भएको थियो ।
जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनु परेको हो ।