नेपाल दलित पत्रकार संघको स्थापना दिवसमा शुभकामना आदान प्रदान गरिएको छ । नेपाल दलित पत्रकार संघको पाचौं स्थापना दिवसको अवसरमा शुक्रबार जिल्ला शाखा रुपन्देहीले बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नेपालको राजनीतिक परिवर्तनमा दलित समुदायको उल्लेखनीय योगदान रहेको बताउँदै दलित समुदायलाई सामाजिक तथा राजनैतिक अधिकार प्राप्तीको आन्दोलनकै कारण समाज रुपान्तरणको दिशामा अगाडि बढेको र यो आन्दोलनलाई अझै उचाईमा पु¥याउनु पर्ने भनाई राख्नुभयो ।
त्यस्तैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले दलितहरुको सामाजिक तथा राजनीतिक अधिकार प्राप्तीको लागि गरिएको आन्दोलनकै कारण केही भएपनि अधिकार स्थापित भएको र त्यसलाई व्यवहारिक रुपमा स्थापित गर्न कठिनाई भईरहेको बताउनु भयो । उहाँले दलित समुदायले प्राप्त गरेका संवैधानिक अधिकार कार्यान्वयनलाई सहज बनाउनको लागि सबै समुदायको साथ र सहयोग संगै स्वीकारोक्तिको समेत भावना जाग्रित हुनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष विनोद परियार, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यमबहादुर सुनार, प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव यानेन्द्र जिसी, नेपाल दलित संघका प्रदेश सचिव सञ्जय सौगात, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी रुपन्देहीका सल्लाहकार आरपि आचार्य, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुवंर, संयुक्त दलित संघष समितिका हरिओम विश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संघका रुपन्देही अध्यक्ष टकबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष शशी परियारको स्वागत तथा सचिव सुरेश परियारको सञ्चालनमा भएको थियो ।