वेरुजुलाई भ्रष्टाचार भन्न मिल्दैन : नगरप्रमुख खाँण

1.3K

वेरुजुलाई भ्रष्टाचार भन्न मिल्दैन : नगरप्रमुख खाँण

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले वेरुजुलाई देखाएर स्थानीय तहमा भ्रष्टाचार मात्रै भईरहेको छ भन्ने भास्य स्थापित गर्न खोजिएको भन्दै त्यसमा असन्तोष व्यक्त गर्नुभएको छ । उहाँले वेरुजुलाई भ्रष्टाचार भन्न नमिल्ने बताउँदै वेरुजुलाई नै भ्रष्टाचारको रुपमा चित्रण गरिनु राम्रो नभएको बताउनु भएको हो । मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएधचे सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक विषयक नागरिक सम्वाद कार्यक्रममा बोल्दै उहाँले राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने संकल्पका साथ अघि बढेमा भ्रष्टाचार न्युनिकरण गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो । अनियमिता अन्त्य गरी सदाचार स्थापना गर्न नागरिक समाजको खवरदारी आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले व्यवस्था परिवर्तनका लागि सहकार्य गरेका राजनीतिक दल र नागरिक समाजको समाजस्यता जोड दिनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्ति बिच सहकार्य नहुँदा सुशासन प्रबद्र्धनमा चुनौती थपिएको बताउनु भयो । स्थापनाकाल देखिनै लोकतन्त्रको सवलीकरणमा जोड दिँदै आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमिताको अन्त्यका लागि अभियान संचालन गरिरहेको उहाँले बताउनु भयो ।
मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रबद्र्धन र दण्डहिनता अन्त्यका लागि आवाज उठाउदै आएको छ ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सचिव जयप्रकाश भट्टराई, नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार लगाएतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताउनु भएको थियो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा माओबादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओबादीका शरद ओली, नेकपा एमालेका मेघराघ घिमिरे, समाजका सचिव कृष्णप्रसाद पाण्डे लगाएतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुती दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने दिन आएको भनाई राख्नुभएको थियो ।