बुटवलमा जेठ २३ र २४ मा प्रदेश स्तरीय श्रमाधान रोजगार मेला : कम्तिमा ७ सय रोजगारी

1.3K

बुटवलमा जेठ २३ र २४ मा प्रदेश स्तरीय श्रमाधान रोजगार मेला : कम्तिमा ७ सय रोजगारी


सरकारले सातै प्रदेशमा गरेको श्रमाधान रोजगार मेला लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेश र बुटवल उप–महानगरपालिकाको संयुक्त आयोजनामा यहि जेठको २३ र २४ गते बुटवल रामनगर स्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्न लागिएको हो ।
भान्तरिक रोजगारी प्रवद्र्धधन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम तथा रोजगारको क्षेत्रमा रहेका बहुआयमिक समस्यालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकुल वातावरण बनाउन आयोजना गर्न लागिएको श्रमाधान रोजगार मेलामा बायोडाटा निर्माण सिकाई सम्बन्धि, उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित, वैदेशिक रोजगार कल सेन्टर लगायतका सरकारी तथा निजी क्षेत्रका करिव ४० बटा स्टल राखिने सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
त्यस्तै सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायत रहेका छन् । बुटवलमा गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय मेलामा नेपाल उद्योग परिसंघले संयोजन गरेको छ ।
मेलाले रोजगार खोज्नेहरु, रोजगारदाताहरु र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस्तैगरी मेलामा सीप विकास कार्यशाला र रोजगारीका अवसरका बारेमा प्यानल छलफल, श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम गरिने छ ।
त्यस्तै सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारी खोजी गर्नेहरुको आवश्यकता सम्बन्धी अन्तरकृया कार्यक्रमहरु सन्चालन हुनेछन । त्यस्तै स्थानिय संस्कृति झल्कने खालका साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा हुने यो श्रमाधान रोजगार मेलामा कम्तिमा ७ सय जनाले रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोजगारीको खोजीमा रहेका र कामदार खोजीरहेका उद्योग प्रतिष्ठानहरु एउटा थलोमा आएर दुबै पक्षले आफ्नो आवश्यकता पहिचान गरेर रोजगारी लिने दिने भएकाले यो विश्वसनीय र भरपर्दो पनि हुने बताउनु भयो । उहाँले बुटवल उपमहानगरपालिकामा १२ सय जनाले रोजगारीको लागि लिखित निवेदन दिएको जानकारी गराउँदै उनीहरुलाई पनि मेलामा सहभागि हुन आग्रह गर्नुभयो ।