बुटवल एक राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । लामो इतिहास बोकेको पुरानो बटौली बजार डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे । पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरको पहिचान बनाएको छ ।
१८७२ वैशाख ७ मा बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेजमाथि विजय हासिल गरेको थियो । पर्यटकीय क्षेत्र तथा धार्मिक स्थल र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा पहिचान स्थापित गर्न पनि बुटवल सफल भएको छ ।
यहाँ रहेका प्राचीन तथा ऐतिहासिक जितगढी किल्ला, सेन वंशीय राजाको ग्रीष्मकालीन दरबार, मन्दिर, विहारजस्ता सम्पदाले आधुनिक सहर बनाउँदै यहाँ पर्यटकीय सम्भावना पनि राम्रो छ भन्न सकिने आधारहरू देख्न सकिन्छ ।
बुटवलको शिरमा रहेको नुवाकोट, काखमा रहेको जितगढी किल्ला, सिरानमा रहेको मणिमुकुन्दसेन उद्यान, हिल पार्क, कपरकट्टी ताल, सिद्ध बाबा मन्दिर, नरैनापुर धाम, नीलकण्ठ बाबा धाम, मुक्तिनाथ धाम, गणेश मन्दिर, बौद्ध गुम्बा, पद्य चैत्य विहार, पुरानो बटौलीको जामे मस्जिदजस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले बुटवललाई सम्पदा सहरको परिचय दिलाएका छन् ।
बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलसँग तीनलाई जोडेर पर्यटकीय विश्राम स्थलका रूपमा बुटवललाई विकास गर्ने लक्ष्य लिईएको नगरप्रमुख खेलराज पाण्डेय बताउनु हुन्छ ।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रवद्र्धनका योजना बनाउन पहल भइरहेको उहाँले बताउनुभयो ।
बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबुलकार र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोड्ने सिद्धार्थ केबुलकारले यो क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा लिइएको छ ।
निजी क्षेत्रले पनि आर्थिक केन्द्रका रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा तारे होटेलहरूमा लगानी गरिरहेका छन ।
पर्यटनमा यस्ता भएका छन् कार्यक्रम
बुटवल उपमहानगरपालिकाले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यही योजना अन्तरगत बुटवल उपमहानगरपालिका भित्रका पर्यटकीय स्थलहरूको पहिचान गर्ने, प्रवद्र्धन, टुर गाइड तालिम दिने, प्रचार प्रसार गर्ने लगायतका कामहरू गर्ने योजना रहेको नगरप्रमुख पाण्डेय बताउनु हुन्छ । ‘हामीले बुटवल उपमहानगरपालिकालाई हरेक दृष्टिकोणबाट अब्बल तथा उत्कृष्ट बनाउने योजनाका साथमा काम गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो–‘यो योजना अनुसार बुटवलले बुटवलका पर्यटकीय स्थलहरूको पहिचान गर्ने, जस्तो कि जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान लगायत यहाँका धार्मिक र ऐतिहासिक, पुरातात्विक पर्यटकीय स्थलहरू जो छन् ती स्थानहरूको प्रवद्र्धन गर्ने काम हामी गर्दै छौ ।”
उहाँले यी काम अन्तरगत यो वर्ष पर्यटन प्रवद्र्धनका कामहरू गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘यसको लागि यो वर्षमा पर्यटन प्रवद्र्धनका मम भैरहेका छन् ।’
नगरप्रमुख पाण्डेयले पर्यटकीय स्थलहरूको ब्रोसरहरु निर्माण गर्ने, ती ब्रोसरहरु बाढ्ने र त्यहाँ आउने पर्यटकहरूलाई ती पर्यटकीय स्थलको बारेमा जानकारी दिनलाई पथ प्रदर्शक (टुर गाइड) लाई तालिम दिने काम गर्ने बताउनुभयो । उहाँले टुर गाइड उत्पादन गर्ने, यहाँको प्रचारप्रसार गर्ने काम उपमहानगरले गर्ने बताउँदै यसले स्थानीयलाई रोजगारीको अवसर मिल्नुको साथसाथै आयआर्जनमा समेत सहयोग हुने विश्वास व्यक्त गरे ।
बुटवल भित्र रहेका पर्यटकीय स्थलको प्रचार प्रसार गरिसकेपछि यसलाई देशभर र नजिकका छिमेकी मुलुकहरूमा पनि यहाँ पर्यटक विश्राम स्थलका रूपमा बनाउने उहाँले दाबी गर्नुभयो । ‘हामीले हाम्रोमा भएका पर्यटकीय गन्तव्य तथा क्षेत्रहरूको जानकारी गराउँदै बुटवललाई बिश्रामस्थल बनाउने छौ ।’ उहाँले भन्नुभयो–‘यहीँ बस्दा नजिकका पर्यटकीय एवं धार्मिक स्थलको भ्रमण गर्न पाइन्छ । साथै अन्य क्षेत्रमा पर्यटकले सेवा पाइएन भन्ने गुनासो आए बुटवल जाने वातावरण बनाऔँ भन्नेमा हामीहरू लागिपरेका छौ ।’
रात्रिकालीन बजारले तान्नेछ पर्यटकको ध्यान
बुटवलले रात्रिकालीन बजार सञ्चालन गर्ने पहलकदमीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्नेमा उपमहानगर तथा व्यवसायी क्षेत्र उत्साही एवं विश्वस्त छन् । रात्रिकालीन बजारले यहाँको संस्कृतीको प्रचारप्रसार हुँदा आय वृद्धि हुने अवस्था आउने उपमहानगरले योजना बनाएको नगरप्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले रात्रिकालीन बजार बुटवलको कालिका पथलाई रात्रिकालीन बजार क्षेत्र बनाउने र यहाँ मान्छे रातिमा आएर घुम्ने, हेर्ने, नाच्ने, रमाउने काम हुने वातावरण बनाउन चाहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘अब यहाँ रात्रिकालीन बजार चल्छ, रात्रिकालीन बजारहरूमा यहाँका संस्कृति पर्यटन सम्बन्धी यहाँका स्थानीय भेषभुषा (थारु मगर, गुरुङ नेवार, बाहुन, क्षेत्री लगायत) संस्कृति लोकबाजा, नृत्य छन् यहाँका होटल रेस्टुरेन्ट, क्याफेहरूले यसको प्रवद्र्धनको काम गर्नेछन् ।’
व्यवस्थित तरिकाका गुणस्तरीय सर्वसुलभ तरिकाका ठेलाहरू तथा स्ट्रेट फुड पनि रात्रिकालीन बजारमा हुने भन्दै उहाँले यी सबै पर्यटकमा बुटवलमा एक दिन विश्राम गर्न जान पर्छ, घुम्न जान भन्दा पहिला पनि थकाइ लागे पनि एक दिन आराम गरेर जाने, घुमेर आएपछि पनि बुटवलमा एक दिन विश्राम गरेर फर्किने खालको बुटवललाई विश्रामस्थल बनाउन चाहेको उहाँले बताउनु भयो ।
बुटवल भ्रमण वर्षको तयारी
पर्यटन प्रवद्र्धन गर्नको लागि बुटवल उपमहानगरपालिकाले ‘बुटवल घुम्न जाऔँ’ भ्रमण वर्ष घोषणाको तयारी गरेको छ । यसको आन्तरिक तयारीको काम भइरहेको उपमहानगर प्रमुख पाण्डेयले जानकारी दिनु भयो ।
उहाँले भ्रमण वर्ष घोषणाले छिमेकी जिल्ला, छिमेकी प्रदेश तथा छिमेकी देशहरूमा बुटवल उपयुक्त पर्यटकीय बिश्रामस्थल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘छिट्टै बुटवलले चाहिँ बुटवल घुम्न जाऊ भ्रमण वर्ष घोषणा गर्ने आन्तरिक तयारीमा छौं ।’ उहाँले भन्नुभयो–‘भ्रमण वर्ष घोषणा गरेर छिमेकी देशहरू, छिमेकी जिल्लाहरूसँग समन्वयको काम गर्नेछौ । हाम्रो नजिकको सिमा क्षेत्र भारत हो । भारतका पर्यटकलाई ल्याउनका लागि त्यहाँका नगरपालिकाहरु तथा सरकारसँग गएर जिटुजी मोडलमा सहमति गर्नेछौं । त्यहाँका मानिसलाई घुम्न बोलाउँछौ । यहाँ आएका मान्छेहरूलाई मुक्तिनाथ सम्म लगिन्छ । त्यसरी यो चाहिँ एकदम गतिलो विश्राम स्थल बनाउने भन्ने योजना छ ।’
पर्यटनमा करिब पौने करोड बजेट
बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन सम्बन्धी गतिविधि गर्नको लागि करिब पौने करोड रकम छुट्टाएर काम गरिरहेको छ । हरेक कुराबाट पर्यटन प्रवद्र्धनको कार्यक्रम राखिए पनि पर्यटकीय क्षेत्रकै विकास बिस्तार र पर्यटकीय क्षेत्रको विकासको लागि चालू आवमा ७२ लाख बजेट छुट्टाइएको उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तर सरकारी तथा सङ्घसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीलेले बताउनु भयो ।
विभिन्न शीर्षकमा छुट्टाइएका कार्यक्रमहरुमध्ये सबैभन्दा धेरै पर्यटन प्रवद्र्धनमा २६ लाख, पार्क स्तरोन्नतिमा २१ लाख, पार्क सौन्दर्यीकरणमा १५ लाख, अध्ययन तथा पुस्तक प्रकाशनमा ३ लाख, सस्कृती संरक्षणमा ३ लाख, टुर गाइड तालिममा डेढ लाख, पर्यटन प्रवद्र्धन प्रचार सामाग्री व्यवस्थापनमा डेढ लाख, होमस्टे स्थापनामा १ लाख रकम विनियोजन भएको उहाँले जानकारी दिनु भयो ।
उत्कृष्ट योजना
बुटवल उपमहानगरपालिकाले ल्याएको बिश्रामस्थलको योजनालाई निजी क्षेत्र तथा सरोकारवालाहरूले स्वागतयोग्य कदम भएको बताएका छन् ।
पर्यटनबिद युवराज कँडेलले चुरे क्षेत्रमा होमस्टे तरिकाबाट बिश्रामस्थल बनाउन सकेमा यो योजना सफल हुने बताउनु हुन्छ । पर्यटकहरू खुला ठाउँमा समय बिताउन, मेडिटेसन तथा प्रकृतिसँग कुरा गर्न रुचाउने हुनाले हिल स्टेसनमा विश्राम स्थल बनाउनुपर्ने कँडेलको सुझाव छ । खुल्ला गेस्ट हाउस बनाएर निजी क्षेत्रलाको सहभागिता बनाएर लैजान सकियो भने राम्रो हुने भन्दै उहाँले आउने अधिकांश भारतका पर्यटक भएकोले उनीहरुलाई आकर्षण गर्ने गरि निर्माण गरिनु पर्ने बताउनुभयो ।
पर्यटकीय विकासका लागि पुरानो बटौली बजारलाई परम्परागत शैलिमा विकास गरी त्यहाँ पर्यटकीय चहलपहल बढाउन सकिने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल बताउनु हुन्छ । अहिले बुटवलमा आएका पर्यटक खासै रात काट्दैनन् । नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटकलाई बसाउने गरी पर्यटकीय स्थलको विकास प्रचार प्रसार र टुर प्याकेज बनाउन आवश्यक रहेको बताउनु भयो ।