उज्यालो बुटवल कार्यक्रम

1.3K

उज्यालो बुटवल कार्यक्रम

बुटवल देवीनगर बस्ने सन्तोष पाण्डे दिनहुँ आफ्नो कार्यालय ट्राफिकचोक आउनुहुन्छ । केही पहिले कार्यालय जाने क्रममा उहाँले तिनकुनेमा खाडल खनेको माटोको थुप्रो देख्नुभयो । बाटो बन्दै होलाई, उहाँलाई खासै चासो पनि थिएन । तर लामो अलि केही दिनपछि बिचमा पोलको लागि बेस(आधार) बनेको देखेपछि यसप्रति चासो दिनुभयो । तीनकुनेमा मात्रै होइन यतिबेला बुटवलका विभिन्न स्थानमा पोलको लागि बेस तयार भएका छन् ।
बुटवल उपमहानगरपालिकालाई ‘उज्यालो बुटवल’ बनाउने अभियान अन्तरगत बुटवलका विभिन्न स्थानमा हाईमास्ट लाइट तथा सडक बत्ती राख्नेकाम भईरहेको छ । ‘उज्यालो बुटवल’ अभियानले बुटवललाई उज्यालो मात्रै नभई अव्यवस्थित तार तथा हाइ–टेन्सन लाइनको पनि काम गरिरहेको बताउनुहुँन्छ बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय । उहाँले ‘उज्यालो बुटवल’ बनाउनको लागि हाईमास्ट लाइटको मुख्य भूमिका रहने बताउनुभयो ।
नगर क्षेत्रको मुख्य हाइवेको मुख्यमुख्य चोकमा राख्दा उज्यालो बनाउँदै बुटवलमा रहेका व्यापार व्यवसायलाई प्रोत्साहन गर्ने कार्य अनुरुप बुटवल बसपार्कबाट सिलन्यास गरेर हाईमास्ट लाईटको काम भईरहेको छ । दुर्घटना न्यूनीकरण, अपराधजन्य जोखिमको न्यूनिकरणका लागि पनि यो सहयोगी बन्नेछ ।
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेपनि बुटवलको अस्तित्व जोगाउने गरी बुटवल उपमहानगरपालिकाले योजना बनाएर सोही अनुसारका कामहरु अगाडि बढाएको छ ।
बुटवलमा अनैतिक क्रियाकलापहरू एवं लागु औषधको प्रयोग पनि अँध्यारोको फाइदा उठाउँदै भएका भन्ने गुनासो आएकोले सबै कुराको व्यवस्थापनको लागि हाईमास्ट लाइन जडान गर्न लागिएको नगरप्रमुख पाण्डेयले बताउनु भयो ।
‘हामीले बुटवल उपमहानगरलाई बस्न योग्य सहरको रूपमा विकास गरिरहेका छौं । यसका लागि हामीले हाम्रो तर्फबाट हुने सम्पूर्ण कामहरू गर्दै आएका छौं ।’ उहाँले भन्नुभयो–‘अहिले हामीले हाईमास्ट लाइट जडानसँगै उज्यालो बुटवल अभियानलाई अगाडि बढाएका छौ । यो अभियानले बुटवललाई उज्यालो, व्यवस्थित, सुरक्षित र बस्न योग्य बनाउने छ ।’

यसरी भैरहेको छ काम

उज्यालो बुटवल अभियानअन्तर्गत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाइमास्ट लाइट जडानका लागि प्रस्ताव तयार गरी सङ्घीय सरकारमा पठाइएको र स्वीकृत भएपछि बुटवल उपमहानगरपालिकाले शिलान्यासको काम गरेको उपमहानगरका योजना महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिनुभयो ।
नगरका मुख्य चोकहरूमा उपमहानगरपालिकाको १ करोड र नेपाल विद्युत् प्राधिकरणसमेतको लागत साझेदारीसहित रु. १ करोड ६० लाख बराबरका १६ वटा हाइमास्ट लाइट जडानको काम भैरहेको छ । नेपाल पावर सलुसनलाई जेठ मसान्त भित्र सक्ने लक्ष्य सहित ठेक्का दिइएको थियो ।
प्राविधिकको सर्वेअनुसार कुनै स्थानमा १२ र कुनैमा १६ मिटर अग्ला पोलमा लाईट जडान गरिने छ । आगामी वर्ष जोगिकुटीदेखि चिडियाखोला र धागो कारखाना देखि तिनाउ पुलसम्म जडान गर्ने नगरपालिकाको योजना छ । रात्रीकालिन बजार व्यवस्थापन अहिलेको आवश्यकता भएकोले यसको लागि उज्यालो बनाउन र बुटवलको सौन्दर्याकरणको लागि यो अभियान प्रभावकारी रहने विश्वास गरिएको छ ।

के हो हाईमास्ट लाइट

अग्लो पोलमा चौतर्फी उज्यालो प्रदान गर्ने लाइट नै हाईमास्ट लाइट हो । मुख्य मुख्य चोक एवं ठुला बाटोको संगम क्षेत्रमा राखिने यस लाइट फरक फरक तरिकाले राखिएको हुन्छ । १२ मिटरदेखि १६ मिटर उचाइ भएको पोलले २५ मिटरको दुरीसम्म उज्यालो पुग्दछ । यसको फाइदा दुर्घटना न्यूनीकरणका साथै साना व्यवसायीहरु, ठेला व्यवसायी, चिया कफी बेच्नेलाई, पर्यटकीय क्षेत्रको रूपमा तथा सुरक्षाको लागि पनि महत्वपूर्ण हुने उपमहानगरको दाबी छ । मुख्य हाइवे अन्तर्गत बुटवल बेलहिया व्यापारिक मार्गमा रहेका सोलार बत्ती स्ट्रीट लाईट रहेकोले बुटवल हाइवेका चोक चोकमा जडान गरिने उपमहानगरले जनाएको छ ।