बुटवल लुम्बिनी प्रदेशको राजधानी त रहेन तर प्रदेशको ठूलो, आधुनिक, सुविधासम्पन्न सहर मात्रै नभएर पूर्वपश्चिम र उत्तर दक्षिणको संगम पनि हो । पहिलेदेखिकै व्यापारिक केन्द्र बुटवलको औद्योगिक र व्यापारिक सहरको पहिचान छ । त्यस्तै शिक्षा र स्वास्थ्यमा पनि मुलुकमै अग्रस्थानमा रहेको छ । मिडियाको हिसावले त मोफसलको राजधानी नै मानिन्छ ।
नेपाल कृषिप्रधान देश भएपनि बुटवलको सहरी भूभाग भने व्यापारप्रधान छ । यसलाई अझै सन्दर सहरको रुपमा विकास गर्नको लागि समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा नगरपालिका जुटेको छ । छाडा चौपाया व्यवस्थापनलाई महाअभियानकै रुपमा सञ्चालन गरेर अहिले करिव सात सय गाईलाई शिवनगर स्थित गौशालामा पुर्याईसकिएको छ ।
अहिले नगरप्रमुख खेलराज पाण्डेयको दिनचर्या सोही गौशालाबाट सुरु हुन्छ । ‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट गाईगोरु आउने गरेका छन् । नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘अहिले हामीले बुटवल भित्र रहेका गाई गोरुको व्यवस्थापन गरेका छौं, यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु भित्रिन रोक्नेगरी काम गरिनेछ ।’
सडकमा गाईगोरुको रजाईले दुर्घटनाको जोखिम पनि बढेको थियो । नगरप्रमुख पाण्डेले सडकमा गाई गोरु देखेमा नगरपालिकालाई सूचना दिन र गौशालामा लैजान सहयोग गर्न आग्रह गर्नुभयो । ‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं, यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ ।’ उहाँले भन्नुभयो ।
यसरी भईरहेको छ व्यवस्थापन
बुटवलकै निकै जटिल समस्या बनेको गौशालामा रहेका गाईगोरुको व्यवस्थापन गर्नु सहज कुरा उहाँले होईन् । त्यहाँ भित्र रहेका छाडा गाईगोरुको व्यवस्थापनका लागि हेरालु राखिएको छ । आवश्यकता अनुसार थपघट हुने गरि हेरालु व्यवस्थापन भएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी गराउनु भयो ।
बुटवलले शुरु गरेको अभियानको शुरुवातमा केही दिनको लागि पराल र दानको व्यवस्थापन गरेर काम शुरु गरेको भएपनि पछिल्लो समय बिभिन्न क्षेत्रबाट सहयोगहरु समेत आउन थालेका छन् । एक जना कर्मचारी राखेर नै आउने सहयोगको व्यवस्थापन र आवश्यक काम हेर्ने गरिएको छ ।
गौशालामा रहेका गाईगोरु बिरामी भईहाले पनि उपमहानगरका पशुपंक्षि महाशाखाका उपनिर्देशक एवं बरिष्ट पशु चिकित्सक झबिन्द्र बञ्जाडेको नेतृत्वको टिमले उपचार एवं अन्य कामहरु गर्दै आईरहेको छ । बञ्जाडेले छाडा छोडिएका गाईगोरु एकैठाउँमा राख्नु सहज कुरा नभएको बताउदैं ति गाईगोरु उछि«खल बन्दै जाने गरेको बताउनुभयो ।
सहयोगको ट्रेण्ड बस्दै
जन्मदिन एवं बिभिन्न सुखद तथा बिभिन्न स्मृति दिवसका दिनमा गौशालामा गएर गौ आहार खुवाउने तथा सहयोग गर्ने परिपाटि बस्दै छ । बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले आफ्नो जन्मदिनको अवसरमा गौशालामा सहयोग गर्नुभयो । उहाँले उपमहानगरपालिकका सबै कर्मचारी एवं जनप्रतिनिधिले जन्मदिनमा सहयोग गरेमा बल्ल समुदायबाट सहयोग आउने र थप व्यवस्थीत गर्न सकिने भन्द्र कर्मचारीलाई समेत प्रोत्साहन गर्नुभएको छ । पछिल्लो समय गौशालामा पुगेर दान गर्नेको संख्या पनि उल्लेखनिय रहेको छ ।