रुपन्देहीको बुटवल उपमहानगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडी सारेको छ । बुटवलका करिब ८ सय महिला यो अभियानमा जोडिने उपमहानगरले जनाएको छ । यो कार्यक्रमले महिलाले आफुले सिक्न चाहेको सिप सिक्न पाउनेछन् । सिप सिकिसकेपछि उनीहरुको सीपलाई रोजगारीसंग जोडिने छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’को नारा लिएर अगाडी बढेको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगार बनाउन यस्ता थुप्रै कार्यक्रम ल्याएको जनाएको छ ।
नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालनका लागि तालिमको पहिचान गरि विवरण पेश गर्ने सार्वजनिक सूचना समेत जारी गरि तालिम समेत सुरु गरिसकिएको छ । जसमा बुटवल भित्रका १९ वटै वडाका महिलाहरुले लाभ लिन सक्ने व्यवस्था गरिएको थियो ।
बुटवलमा ७० जना गृहिणी महिलाका लागी चुरा, पोते, टिका, बनाउने ४५ दिने तालिम, एक सय जना महिलाका लागी १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, एक सय जना महिलाका लागि एक महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, डे«स तयार गर्ने २ महिने तालिम, ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, एक सय जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुक, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरि जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाका तालिम सुरु गरिएको छ । तालिममा सीप सिक्न इच्छुक २०–६० बर्ष उमेरका गृहिणी महिला छन् ।
पहिलो चरण आवेदन माग गर्दा कम आवेदन परेकाले सुचना नपुगेको हुनसक्ने भन्दै पुन सूचना प्रकाशित गरि तालिम सञ्चान गरिएको महिला बालबालिका तथा समावेशीकरण शाखाका अधिकृत तारा भुसालले जानकारी दिनुभयो । यो कार्यक्रमको लागि उपमहानगरले गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७९ बनाएर काम अगाडी बढाएको हो ।
महिलालाई स्वरोजगार र उद्यमशिलतामा जोड्न कार्यक्रम
नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम नितान्त महिलालाई स्वरोजगार र उद्यमशिलतासंग जोड्ने कार्यक्रम भएको नगर प्रमुख खेलराज पाण्डे बताउनु हुन्छ । घरमा बेकामे भएर बसेका गृहिणी महिलालाई स्वरोजगार बनाउने मुख्य उदेश्य रहेको उहाँले बताउनु भयो ।
यो कार्यक्रम सेवामूलक नभएर उत्पादनमूलक सिपसंग जोडिएको बताउदै सिपसिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि बिक्रीवितरणको व्यवस्था मिलाईने नगरप्रमुख पाण्डेयले बताउनु भयो । यो कार्यक्रमको लागि आर्थिक बर्ष २०८०÷८१ को बजेटमा २ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
यसका लागि बुटवल उपमहानगरकोे नगरप्रमुख गृहिणी स्वरोजगार शाखाबाट बजार व्यवस्थापन, बिक्रीका लागि प्रचार प्रसारको कार्यक्रम र यसमा हाम्रो उत्पादनलाई कति बर्ष सम्म कर छुट दिने र ति पदार्थहरु बाहिरबाट आउछन् भने कति प्रतिशत बढी कर लगाउने भन्ने खालका मापदण्ड र विधिका बारेमा नगर सभामा बिषय प्रवेश गराएर बृहत छलफल गरि दिगोपन हुनेगरि अगाडी बढाउने नगरप्रमुख पाण्डेले बताउनु भयो । समुहमा २० जना भन्दा बढी आएमा आवश्यकता अनुसारको तालिम प्रदान गरिने बताउँदै नगरप्रमुख पाण्डेयले नगरमा बेरोजगार भएर बसेका गृहिणी महिलालाई तालिममा जोडिन पनि आग्रह गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उद्यमशिलतासंग जोडिएको कार्यक्रम भएको बताउदै साच्चिकै लाभदायक हुने अपेक्षा गरिएको बताउनु हुन्छ । ‘घरबसेका आमाले बत्ति काट्न सक्नु भो, कोही महिलाले सेलरोटी बनाउन पनि सक्नुभो, जो सिपमा रमाउन चाहानुहुन्छ, सिपको अभावमा बेरोजगार हुनुहुन्छ, उहाँहरुका लागि यो कार्यक्रम दीर्घकालिन हुन्छ’, उपप्रमुख अर्यालले भन्नुभयो–‘महिलाहरुको स्तरलाई जवसम्म राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, लगायतका बिषयमा अगाडी बढाउन सकिैदैन तवसम्म नगरले अगाडी सारेको बस्न योग्य बुटवल बन्न सक्दैन, त्यसैले यस्ता कार्यक्रम निरन्तर संचालन हुनेछन् ।’
महिलालाई सम्पत्ति माथिको पुर्ण अधिकार कार्यान्वयनमा नआउदा, हातमा सिप नहुदा, बिभिन्न किसिमका समस्या, बिभेद, हिंसा, निर्णायक तहमा पुग्न कठिन भएको बताउँदै उहाँले महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकियो भने यी समस्या आफै समाधान हुने भएकाले महिलालाई आत्मनिर्भर बनाउनको लागि ूस्वरोजगार बनाउन तालिम सुरु गरिएको उहाँको भनाई छ ।