अर्थतन्त्र सुधारका लागि सबै मिलेर व्यवसायिक वातावरण बनाऔं : नगरप्रमुख खाँण

30

अर्थतन्त्र सुधारका लागि सबै मिलेर व्यवसायिक वातावरण बनाऔं : नगरप्रमुख खाँण

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मुलुकको अर्थतन्त्र सुधारका लागि औद्योगिक तथा व्यवसायिक वातावरण आवश्यक रहेको बताउनु भएको छ । उहाँले औद्योगिक तथा व्यवसायिक विकासले मात्रै मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने भएकाले त्यस्तो वातावरण बनाउनको आफूहरु प्रयत्नशिल रहेको बताउनु भयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघमा आईतबार आयोजना गरिएको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन स्थानीय सरकारले के गर्नुपर्छ निजी क्षेत्रसंग सहकार्य गरिने बताउनु भयो । उहाँले नगरको समृद्धिका लागि औद्योगिक विकास र त्यसको लागि उद्यमशिलता विकास आवश्यक रहेको बताउँदै उद्यमशिलता विकासका योजना निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नगरप्रमुख खाँणले तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकामा एक नगर एक उत्पादन, दक्ष जनशक्तिलाई रोजगारी जस्ता अवधारणा प्रस्तुत गरेको स्मरण गर्दै त्यसको लागि समेत योजना बनाउन आग्रह गर्नुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघमा हालै सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो । उक्त अधिवेशनबाट ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, महासचिवमा राजकुमार पाण्डेय, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा विना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डेय, सहकोषाध्यक्षमा वसन्त रोकालाई चयन गरिएको थियो ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा राधिकादेवी शर्मा, शेरबहादुर थापा, छोटोलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डेय, नरेशबहादुर क्षेत्री, अन्जना केसी, कमल भुसाल, अर्जुन पराजुली, सालिकराम वोस्ती, अङ्कित भुसाल र गोविन्द रेग्मीलाई चयन गरिएको थियो ।

पदस्थापन कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडपछि कठिन परिस्थितीमा गुज्रिरहेका उद्योगी व्यवसायीलाई हौसला मिल्नेगरी योजना बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले उद्योग राम्रोसंग चल्ने र व्यापार पनि हुने हो भने सरकारलाई कर तिर्न उद्योगी व्यवसायीलाई कुनै समस्या नहुने बताउँदै उद्योग व्यवसायलाई माथि उठाउने गरी व्यवसायिक वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
त्यस्तै निवर्तमान अध्यक्ष गुणनिधी भण्डारीले मुलुकको खस्किदो अर्थतन्त्रले उद्योगी व्यवसायी मर्कामा परेको बताउँदै सरकारले ल्याएको बजेटले पनि उद्योगी व्यवसायीलाई आशा जगाउन नसकेको बताउँदै स्थानीय सरकारले ल्याउने नीति कार्यक्रम र बजेटमा सम्बोधन गर्न आग्रह गर्नुभयो ।
संघका सल्लाहकार नवराज श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष हिमाल गैरे, संघका निवर्तमान कार्यसमिति सदस्य तथा रास्वपा तिलोत्तमा नगर सभापति रुस्तम कंडलले उद्योगी व्यवसायीका साझा समस्यामा सामुहिक पैरवी गर्ने हो भने त्यसले प्रतिफल पनि दिने बताउँदै त्यस्ता मुद्धामा सबै एक ठाउँमा हुन सकिने भनाई राख्नुभएको थियो । कार्यक्रम संघका महासविच राजकुमार पाण्डेयको सञ्चालनमा भएको थियो ।