सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचर मुद्धा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्याल विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बहालवाला मुख्यसचिव माथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो पहिलो घटना हो । मुख्यसचिव अर्याल विरुद्ध सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न रहेको आरोप छ ।
सञ्चार मन्त्रालयको वार्षिक बजेटभन्दा बढी स्रोत सुनिश्चितता पाएको सुरक्षण मुद्रण केन्द्रले त्यसपछि अन्तशुल्क स्टिकर छाप्ने काम अघि बढाउन भन्दै प्रिन्टर आयात गरेको थियो । पछि सुरक्षण मुद्रण केन्द्रले पनि तेस्रो पक्षलाई ठेक्का दिएको हो । यही ठेक्कामा अख्तियारले प्रश्न उठाएको हो ।
अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्धा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ । मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कामू मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ ।