आगलागिबाट पूर्ण रुपमा क्षती भएको बुटवलको डेल्टा एजुकेशन मार्ट प्रा.लि. पुनः सञ्चालनमा आउने भएको छ । डेल्टा एजुकेशन मार्ट प्रा.लि.ले बजारमा ग्राहकसंग भएको दायित्व बोध गर्दै यहि असार १६ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
डेल्टा एजुकेशन मार्ट प्रा.लि.का अध्यक्ष लोकनाथ उपाध्यायले मार्टले प्रदान गर्दै आएको सेवा कम्पाउण्ड भित्रै रहेको गोदाम घरमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराउनु भयो । डेल्टा एजुकेशन मार्ट प्रा.लि.ले किताव कापी, विद्यालय तथा कलेजका पोषाक तथा व्याग विक्रि वितरण गर्दै आएको थियो ।
तत्कालको लागि डेल्टा एजुकेशन मार्टले प्रदान गरेका सेवा दिनेगरी मार्ट सञ्चालन गर्न लागिएको र मार्टमा रहेका अन्नपूर्ण हाईपर मार्केट, डिम सप्लायर्स, डिम गार्मेन्ट, नेपाली लुगा घर र नेपाल जुक्ता घरका पसलहरु सम्भव भएसम्म क्रमशः दशैंसम्ममा सबै सेवा पुनः सञ्चालन गर्ने आफूहरुको मनसाय रहेको अर्का सञ्चालक गणेशचन्द्र पोखरेलले बताउनु भयो ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्टमा यहि असारको ६ गते साझ भएको आगलागिबाट डेल्टा एजुकेशन मार्ट सहित त्यस भवनमा रहेका अन्नपूर्ण हाईपर मार्केट, डिम सप्लायर्स, डिम गार्मेन्ट, नेपाली लुगा घर तथा पवित्रा शुज इण्डष्ट्रिज, वेष्ट ग्लोवल प्रा.लि., शुभकामना फूटवेयर इण्डष्ट्रिज, लालिगुराँश फट वेयर इण्डष्ट्रिज, उपहार शुज हाउस, स्मार्ट शुज इण्डष्ट्रिज, न्यू आर एण्ड एस प्रा.लि. र शुज हाउस गरी ८ वटा जुत्ता कम्पनी जलेर पुर्ण रुपमा नष्ट भएका छन् ।
६ गते साँझ करिव साढे ६ बजे लागेको आगो अर्कोदिन मात्रै नियन्त्रणमा आएको थियो । जसमा उक्त भवन पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागिबाट भएको क्षेतीको विस्तृत अध्ययन भईरहेको जानकारी गराउँदै सञ्चालक चोलाप्रसाद पाठकले कम्तिमा ४४ करोड रुपैंयाको क्षेती भएको प्रारम्भिक अनुमान गरिएको जानकारी गराउनु भयो ।