नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले भदौको पहिलो साता निर्वाचन गर्न केन्द्रीय समितिलाई प्रस्ताव गरेका छन् । निर्वाचनको पछिल्लो कार्यतालिकामा जिल्ला अध्यक्षहरुको गम्भिर ध्यानाकर्षण भएको बताउँदै सदस्यता टुंग्याएर निर्वाचनमा जानुपर्नेमा महासंघ केन्द्रीय समिति उल्टो बाटोमा हिडेका कारण समस्या उत्पन्न भएको शुक्रबार २० जिल्लाका अध्यक्षहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्ला शाखाहरुले गरेको सिफारिस विपरित मनोमानी ढंगले सदस्यता थप्ने र हटाउने गरेका कारण सदस्यता विवाद बल्झिदै गएको ठहर गर्दै जिल्ला शाखाहरुले पठाएको सदस्यता कायम गर्न पनि माग गरिएको छ । उनीहरुले निर्वाचनको मिति तोक्ने भन्दा पनि पहिला सदस्यता टुंग्याउन आग्रह गरेका छन् ।
महासंघ सदस्यता सम्बन्धि गम्भिर विवादमा फसेको र यो विवाद नमिलाउँदासम्म निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै जिल्ला शाखाहरुले आर्थिक वर्षको अन्त्य, रोपाई तथा मनसुन अत्यन्त सक्रिय भईरहेको अवस्थामा निर्वाचनमा होमिन व्यवहारिक कठिनाई हुने भएकाले भदौको पहिलो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिईएको छ ।
‘मनोमानी तरिकाले थपघट गरिएको सदस्यताको आधारमा बलजफ्ती निर्वाचन गराउन खोजिए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही स्वयं केन्द्रीय समिति र केन्द्रीय निर्वाचन समिति नै हुने जानकारी गराउँदछौ ।’ विज्ञप्तीमा भनिएको छ ।
