दुधको उत्पादन बढाउन बुटवलका दुग्ध उत्पादक किसानलाई अनुदानमा पाडी

1.3K

दुधको उत्पादन बढाउन बुटवलका दुग्ध उत्पादक किसानलाई अनुदानमा पाडी

बुटवल उपमहानगरपालिकाले बुटवलका दुग्ध उत्पादक पशुपालक किसानलाई अनुदानमा पाडी प्रदान गरेको छ । दुध प्रवद्र्धधन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो । जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताउनु भयो । उहाँले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको पनि जानकारी गराउनु भयो ।
‘बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो–‘किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मद्धत पुग्नेछ ।’
बुटवल उपमहानगरपालिका पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेलेका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् । बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो ।
मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन उपलब्ध गराइएको हो । पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उनले बताउनु भयो । गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बंगुर खोर सुधार तर्फ अनुदान दिएको हो । आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।