सरकारमा काँग्रेस–एमालेको नयाँ समिकरण : प्रचण्डलाई राजिनामा गर्न आग्रह

1.3K

सरकारमा काँग्रेस–एमालेको नयाँ समिकरण : प्रचण्डलाई राजिनामा गर्न आग्रह

संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले विच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । संसदको बाँकी अवधिमा आधा आधा समय सरकारको नेतृत्व गर्नेगरी काँगेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुनेछ । पछिल्लो डेढ वर्ष चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले नेतृत्व गर्नुहुनेछ । पहिलो चरणमा सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र काँग्रेसले गृह सहित १० मन्त्रालय लिनेछ । राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने भएकाले यो संख्या घटबढ पनि हुन सक्ने बताईएको छ । राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य काँग्रेस र एमालेले लिएका छन् ।
त्यस्तै निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने समझदारी बनेको छ ।
काँग्रेस–एमालेको सहमतिसँगै पटक पटक गठबन्धन बदलिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार विगटनको संघारमा पुगेको छ । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने निश्चित छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालसंग तत्काल राजिनामा दिने वा विश्वासको मत लिने विकल्प बाँकी रहने छ ।
काँग्रेस एमाले विचमा औपचारिक रुपमा प्रधानमन्त्री दाहाललाई राजिनामा गर्न अनुरोध गर्ने र नभए एमाले मन्त्रीहरुले सामुहिक राजिनामा गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको छ । राजनीतिको विकसित घटनाक्रमबारे राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्यरातमै जानकारी गराईएको छ ।