एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको ३५ औं साधारण सभा सम्पन्न भएको छ । मावनअधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको शनिबार बुटवलमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले एम्नेष्टी इन्टरनेशनल नेपालको संशोधित विधान अनुसार साधारण सभाबाट चयन गर्नुपर्ने दुई जना क्षेत्रीय प्रतिनीधि पनि चयन गरिएको छ । साधारण सभाले क्षेत्रीय प्रतिनीधिमा समुहका संयोजक कविन्द्र नेपाल र समुहकी सचिव सपना रेग्मी लम्साललाई चयन गरेको हो ।
साधारण सभामा बोल्दै समुहका सल्लाहकार तथा पूर्व संयोजक शालिकराम वञ्जाडेले एम्नेष्टीले मानव अधिकारको रक्षा, प्रवर्द्धन र मानवअधिकार शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालको सन्दर्भमा द्वन्द्वको समयमा यो संस्थाले धेरै काम गरेको स्मरण गर्नुभयो । यसले विश्व समुदायसंग सहकार्य गरेर काम गर्ने भएकाले स्थानीय स्तरमा झ्याप्प नदेखिएपनि यो संस्थाको भूमिका र उपलब्धि समेत उल्लेखनीय रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा संस्थाका संयोजक कविन्द्र नेपालले संस्थाले वर्षभरीमा गरेका गतिविधिको बारेमा जानकारी गराउँदै मानव अधिकारको संरक्षणका लागि गरेका प्रयासहरु सार्थक भईरहेको भनाई राख्नुभयो । उहाँले अहिले पनि मानवअधिकार उल्लंघनका घटनाहरु भईरहेको बताउँदै थुनामा रहेका बन्दीहरुको मृत्युका विषयमा व्यापक प्रश्न उठेको भनाई राख्नुभयो । मानव अधिकारको सवालमा सरकारलाई जिम्मेवार र कर्तव्य बोध गराउनको लागि एम्नेष्टीले दवाव सिर्जना गरिरहेको जानकारी गराउनु भयो । कार्यक्रम संस्थाकी सचिव सपना रेग्मी लम्सालको सञ्चालनमा भएको थियो ।
त्यस्तैगरी एम्नेष्टी इन्टरनेशनल नेपाल बुटवल महिला समुह–३७ को पनि सातौं साधारण सभा गरिएको छ । साधारण सभामा संस्थाकी संयोजक समा श्रेष्ठले संस्थाले गरेका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । यो समुहले पनि दुई जना क्षेत्रीय प्रतिनीधि चयन गरेको छ । साधारण सभाले समुहकी संयोजक समा श्रेष्ठ र सहसंयोजक अमृता रोकालाई क्षेत्रीय प्रतिनीधि चयन गरेको हो ।