उच्च जोखिमको सूचना जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका जिल्ला र क्षेत्रमा ती दिनमा रात्रीकालीन सवारी नचलाउने निर्णय गरिएको हो ।
यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी गराउनु भएको छ । यो निर्णयसँगै अब बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन ।
त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने समेत निर्णय गरिएको छ ।
यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने छ ।