राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले लिएकाे विश्वासकाे मत अस्वीकृत भएपछि राष्ट्रपति पाैडेलले ७२ घण्टाकाे समय दिएर संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे हाे ।
राष्ट्रपतिले गरेकाे आह्वान अनुसार साेमबार साँझसम्म दावी पेस गर्नुपर्ने छ । संसद्का दुई ठूला दल काँग्रेस र एमाले बिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।