राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएकाे छ ।
उहाँले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएकाे हाे । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दावी पेस गर्नकाे लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुग्नु भएकाे हाे ।
संसद्का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएकाे हाे ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे ।