लेखा अधिकृतले वार्गेनिङ गरेर फाईल रोक्दा निर्माण व्यवसायीको भुक्तानी रोकियो

1.3K

लेखा अधिकृतले वार्गेनिङ गरेर फाईल रोक्दा निर्माण व्यवसायीको भुक्तानी रोकियो

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवल रुपन्देहीका लेखा अधिकृतले व्यवसायीसंग वार्गेनिङ् गरेर फाईल अगाडि नबढाउँदा आफूहरुको भुक्तानी रोकिएको व्यवसायीहरुले गुनासो गरेका छन् । निर्माण व्यवसायी तथा उपभोक्ता समितिबाट भएका खानेपानी टंकी निर्माण, बोरिङ, कार्यालय भवन, कम्पाउण्ड वाल, पाईपलाईन, विद्युतीकरण लगायतका सम्पन्न आयोजनाहरुको समयमै विल भरपाई लगायतका कागजात पेस गरिएको भएपनि लेखा अधिकृत (छैठौं) कृष्णकुमार वञ्जाडेले पैसाका लागि अनेक बहाना गरेर फाईल रोकिदिएका कारण आफूहरुको भुक्तानी रोकिएको बताएका हुन् ।
जसका कारण सबैभन्दा धेरै राजकुमार विडारीको विडारी निर्माण सेवाको भुक्तानी रोकिएको छ । त्यस्तै रमेश बानियाको आयरा ड्रिलिङ एण्ड कन्सटक्सन लगायत धेरै निर्माण व्यवसायीको भुक्तानी रोकिएको हो । प्रदेश सरकार अन्तरगत सघन विकास खानेपानी कार्यक्रम अन्तरगत विभिन्न खानेपानी आयोजना सञ्चालनमा थिए ।
निर्माण व्यवसायीसंग अनेक बहाना गरेर पैसा माग्ने वञ्जाडेको सैनामैना नगरपालिका वडा नं. १ मा कृषि फर्म समेत रहेको र पैसाका लागि कहिले फर्ममा बोलाउने, कहिले घरमा बोलाएर अतिरिक्त रकम माग गरि बार्गेनिङ गर्ने गरेको व्यवसायीको आरोप छ । लेखा अधिकृत बञ्जाडेले सञ्चालन गरेको उक्त कृषि फर्मको लागि लेवर तथा सामान माग गर्ने, संरचना निर्माण गरिदिन भन्ने गरेको उनीहरुले बताए । कार्यालय प्रमुखले तोक लगाएका फाईल समेत लेखा अधिकृत बञ्जाडेले अनेक बहाना गरेर भुक्तानी रोकिदिएको उनीहरुले बताए ।
व्यवसायीसंग अतिरिक्त रकम असुल गर्न आफ्नै नाता पर्ने (जेठानका छोरा) कार्यालयका कर्मचारी सरोज भुसाललाई प्रयोग गर्ने गरेको समेत खुलेको छ । भुसाललाई पनि आफ्नै तजविजमा कार्यालयमा भर्ति गरेको समेत पाईएको छ । कार्यालयमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत हुँदाहुँदै म्याद थपका लागि अवरोध गरेर महिला कार्यकता विमला भट्टराई र टेक्निसियन विष्णु भट्टराईलाई राजीनामा गर्न बाध्य बनाएका कार्यालयकै कर्मचारीहरु बताउँछन् । त्यस्तै दरवन्दी स्वीकृत नभएको ठाउँमा जेठानको छोरा सरोज भुसाललाई सहायक कम्प्युटर अपरेटर र दीदि सासुको छोरा दिपक पाण्डेलाई करार र दैनिक ज्यालादारीमा भर्ती गर्न डिभिजन प्रमुखलाई लेखा अधिकृत बञ्जाडेले बाध्य बनाएको बताईएको छ ।
लेखा अधिकृत बञ्जाडेले निर्माण व्यवसायीसंग बार्गेनिङ गरेको पैसा दरवन्दी स्वीकृत नभएको ठाउँमा करारमा भर्ती गरेका सरोज भुसालको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउनु भएको छ । तर लेखा अधिकृत बञ्जाडे भने व्यवसायीको यो आरोप स्वीकार गर्न तयार हुनुहुन्न । उहाँले प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश सरकारले रोकेका कारण भुक्तानी आदेश भएका फाईलको पनि करि ४÷५ करोड रुपैंया भुक्तानी रोकिएको बताउनु भयो । उहाँले व्यवसायीहरुले लगाएको आरोप आरोपका लागि आरोप भएको बताउँदै त्यसमा सम्बन्धित निकायले छानविन गर्न सक्ने बताउनु भयो ।
यस विषयमा कार्यालय प्रमुख राजकुमार चौधरीले यस विषयमा केही समस्या रहेको र पछि कुरा गर्ने बताउनु भयो । यद्यपी लेखा अधिकृत वञ्जाडेको दवावका कारण कार्यालय प्रमुख गुणनिधी पोखरेल पनि लामो समय टिक्न सक्नु भएन । त्यस्तै त्यसपछि आएका आविक हुसेन पनि तीन महिनामै सरुवा माग्नु भयो भने अहिलेका कार्यालय प्रमुख चौधरीले आफू नजिककासंग प्राविधिक रुपमा आफू कार्यालय प्रमुख भएपनि लेखा अधिकृत वञ्जाडे नै कार्यालय प्रमुख रहेको बताउने गर्नुभएको छ ।