उच्च अदालत तुलसीपुर बुटवल इजलासमा लक्ष्यभन्दा २२ प्रतिशत बढी मुद्धा फैसला भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा दर्ता भएका भन्दा अगाडिका सबै मुद्धा फस्र्यौट भएका छन् ।
उच्च अदालत बुटवल इजलासका रजिष्टार प्रेमप्रसाद पौडेलका अनुसार गत वर्षबाट जिम्मेवारी सरी आएका १ हजार ५४१ र यो वर्ष दर्ता भएका २ हजार ३६५ गरी ३ हजार ९०६ मुद्धामध्ये चालु आर्थिक वर्षको असार २८ गतेसम्म ३ हजार ४९ वटा मुद्धा फैसला भएका छन् ।
गतवर्षबाट जिम्मेवारी सरी आएका १ हजार ५४१ वटै मुद्धा फस्र्यौट भएको पनि उहाँले जानकारी गराउनु भयो । अव उच्च अदालत बुटवल इजलासमा ८५७ वटा मुद्धा फस्र्यौट हुन बाँकी रहेको छ । फस्र्यौट हुन बाँकी ८५७ वटै मुद्धा एक वर्ष भित्रका हुन् ।
यो अदालतमा चालु आर्थिक वर्षमा २ हजार ४८० मुद्धा फस्र्यौट गर्ने लक्ष्य राखिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेसम्म लक्ष्यभन्दा ५६९ वटा बढी मुद्धा फस्र्यौट भएका छन् । यो लक्ष्य भन्दा २२.९ प्रतिशतले बढी हो । त्यस्तैगरी जम्मा लगतको ७८.०५ प्रतिशत मुद्धा फस्र्यौट भएको छ ।
अदालतमा चालु आर्थिक वर्षमा भएको प्रगति समिक्षाका बारेमा जानकारी गराउन आईतबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा उच्च अदालत बुटवल इजलास अन्तरगतका जिल्ला अदालतले गरेका कार्य प्रगतिको बारेमा पनि जानकारी गराईएको छ ।
उच्च अदातल तुलसीपुर बुटवल इजलास अन्तरगतका जिल्ला अदालतहरुमध्ये सबैभन्दा बढी रुपन्देही जिल्ला अदालतमा ५ हजार ३३ मुद्धा फस्र्यौट भएका छन् । ९ हजार १८४ मुद्धा रहेको रुपन्देही जिल्ला अदालतमा फस्र्यौट भएका मुद्धाको प्रतिशतका हिसावमा भने यो सबैभन्दा कम हो । रुपन्देहीमा ५४.८ प्रतिशत मुद्धा फस्र्यौट भएको छ ।
प्रतिशतका हिसावले सबैभन्दा बढी अर्घाखाँचीमा ७६.२७ प्रतिशत मुद्धा फस्र्यौट भएका छन् । अर्घाखाँचीमा ६४९ जम्मा लगत मध्ये ४५९ मुद्धा फस्र्यौट भएका छन् । त्यसैगरी पाल्पामा ७३.२२ प्रतिशत मुद्धा फस्र्यौट भएको छ । पाल्पा जिल्ला अदालतमा १ हजार ३१ मध्ये ७५५ मुद्धा फस्र्यौट भएका हुन् ।
गुल्मीमा ७१ प्रतिशत मुद्धा फस्यौट भएका छन् । गुल्मीमा ६७४ जम्मा लगत मध्ये ४८० मुद्धा फस्र्यौट भएका छन् । नवलपरासी पश्चिममा ५९.८ प्रतिशत मुद्धा फस्र्यौट भएका छन् । नवलपरासी पश्चिम जिल्ला अदालतमा ३ हजार ९५१ मध्ये २ हजार ३६३ मुद्धा फस्र्यौट भएका छन् । कपिलबस्तुमा ५९.५७ प्रतिशत मुद्धा फस्र्यौट भएका छन् । कपिलबस्तु जिल्ला अदालतमा ४ हजार ६७५ मध्ये २ हजार ७८५ मुद्धा फस्र्यौट भएको पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्टार पौडेलले जानकारी गराउनु भयो ।
त्यस अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायधिश राजेश्वर तिवारीले उक्त अदालतमा भएको कार्यप्रगतिले अदातलप्रति आम नागरिकको भरोशा बढाउन सकारात्मक सन्देश दिएको बताउनु भयो । उहाँले अदालतप्रति जनआस्था बढाउनको लागि सकारात्मक सन्देश दिनेगरी आम नागरिकलाई सन्देश दिन पनि आग्रह गर्नुभयो ।