रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज)मा फर्नेस आयल उद्योग सञ्चालनमा आएको छ । रुपन्देहीका ४ जना अनुभवी उद्योगीहरुको लगानीमा इको नेपाल इनर्जी इण्डष्ट्रिज प्रा.लि.ले फर्नेस आयल उद्योग सञ्चालनमा ल्याईएको हो ।
राष्ट्रको आर्थिक बिकासमा निजि क्षेत्रको भूमिकाको अपरिहार्यतालाई आत्मसात गरी औद्योगिक उर्जा उत्पादनको लागि इको नेपाल इण्डष्ट्रिज प्रा.लि. स्थापना गरिएको र सोही अनुसार सोमबारदेखि व्यवसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी गराउनु भयो ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. १ मा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापना गरिएको स्थानीय कच्चा पदार्थमा आधारित यो उद्योगबाट फर्नेस आयल (औद्योगिक तेल) उत्पादन गर्दछ । फोहर र खेर गैरहेका रबरजन्य बस्तुहरुबाट फर्नेस आयल उत्पादन गरिने पनि उहाँले बताउनु भयो । जसलाई पाइरोलाइसिस आयल पनि भनिन्छ ।
यो विशेष गरेर सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, बोइलरहरु, सेरामिक उद्योग, ईट्टा कारखाना, हट वाटर जेनरेटर, हट एयर जेनरेटर लगायतमा उपयोग हुन्छ ।
यो उद्योगले सेजमा ११ हजार ५६९.५ स्क्वायर मिटर क्षेत्रफल ओगटेको छ । यो उद्योगमा प्रति दिन १० हजार लिटर पायोरालाइसिस आयल उत्पादन क्षमताका २ वटा प्लाण्ट जडान गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । यो उद्योगबाट निस्कने बाईप्रोडक्टहरु ब्लाक क्याट ब्राण्डको ब्लाक कार्वन र स्टिल तारहरु अन्य उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै यो उद्योगका बाईप्रोडक्ट कालो पाउडर र स्टील तारहरु समेत अन्य उद्योगहरुको कच्चा पदार्थका रूपमा उपयोग हुन्छन् ।
हाल यो उद्योगले प्रत्यक्ष रुपमा ५० जना रोजगारी प्रदान गरेको छ भने अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारीको अवसर पाएको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
काम नलाग्ने फालिएका, फोहर बढाउने, वातावरण प्रदुषित गर्ने गाडिका टायर, ट्युब जस्ता रबरजन्य फोहर पदार्थलाई रिसाइकिलिङ्ग प्रक्रियाबाट औद्योगिक उर्जा उत्पादन गर्ने भएकाले देशको औद्योगिक तथा आर्थिक विकाससंगै वातावरणीय प्रदुषण न्यूनिकरणमा पनि योगदान गर्ने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । उत्पादन प्रक्रियामा निस्किने वेष्टेज स्टील तार र ब्ल्याक कार्बन पनि पुनः अन्य उद्योगका निम्ति कच्च्चा पदार्थ तथा बैकल्पिक उर्जाको काम गर्ने भएकाले यो धेरै उपयोगि रहेको उहाँले बताउनु हुन्छ ।