ओलीले फेरी पनि संसद विघटन गर्न सक्छन् : चित्रबहादुर

1.3K

ओलीले फेरी पनि संसद विघटन गर्न सक्छन् : चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपि शर्मा ओलीले फेरी पनि संसद विघटन गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ । शनिबार प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले विगतमा जस्तै संसद विघटन गर्न सक्ने बताउनु भएको हो ।
ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म नस्वीको पनि बताउनु भयो । कांग्रेस र एमालेले गरेको भनिएको सात बुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेको भनेर नेता केसीले प्रश्न समेत गर्नुभयो ।
‘रातारात गरेको सात बुँदेमा के छ ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन् ?’, केसीले भन्नुभयो, ‘सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुँदैन ।’
उहाँले यो गठबन्धन पनि लामो समय जान्छ भन्नेमा आशंका व्यक्त गर्नुभयो । विगतमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वर्ग गए पनि संगै, नर्क गए पनि संगै जाने हो, गठबन्धन २०८४ सम्म जान्छ भनेको उल्लेख गर्दै केसीले नयाँ गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताउनु भयो ।
नेपालको राजनीतिमा सिद्धान्त, इमान जमान छैन, छलकपट, जालझेल मात्रै छ त्यसैले यो सरकार लामो समय टिक्छ भनेर भन्ने अवस्थ नरहेको उहाँले बताउनु भयो ।