आगामी तीन दिन मनसुनी गतिविधि अझै सक्रिय हुने देखिएको छ । जसका कारण मुलुकभरका कुनै कुनै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना छ । आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने भएकाले भारी वर्षा हुने सम्भावना देखिएको छ ।
त्यस्तै रातीको समयमा धेरै पानी पर्न सक्छ । रातीमा बढी पानी पर्नु मुनसुनको विशेषता नै हो । अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ । आज आईतबार राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै भोली सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।