लुम्बिनीका वनमन्त्री कुर्मीकाे राजीनामा

1.3K

लुम्बिनीका वनमन्त्री कुर्मीकाे राजीनामा

बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लागेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिनुभएकाे छ । उहालाई बर्खास्त गर्न माग गर्दै महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ-संस्थाले एक महिनादेखि काठमाडौंमा आन्दोलन गरेका थिए ।
काँग्रेस सांसद कुर्मी साउन ९ गते मन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँको नियुक्तिले कांग्रेसभित्रको संस्थापन इतर पक्ष समेत असन्तुष्ट थियो । काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीकाे सिफारिसमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।
काँग्रेस लुम्बिनी प्रदेश समितिले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो । जसले मन्त्री कुर्मीमाथि राजीनामाको दवाव बढेको थियो ।
मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिनुभएकाे थियाे ।