सीमा क्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलीलाई रोक्न रुपन्देहीका उद्योग–व्यवसायीले माग गरेका छन् । कमजोर भन्सार नियमन र खुला सीमाबाट हुने चोरी निकासी कारोबारले राजस्व संकलन तथा व्यावसायिक कारोबारमा असर गरेको भन्दै भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई उनीहरूले बिहीबार ध्यानाकर्षण गराएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघले संयुक्त रूपमा भैरहवा भन्सार कार्यालय, बेलहीयाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दशैँ–तिहारजस्ता प्रमुख चाडमा नेपाली बजार सुनसान हुने, भारतीय बजार गुलजार हुने वातावरण सरकारी निकायको कमजोरीका कारण भएको बताउँदै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजान भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्दै जान अनुरोध गर्नुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अवैध कारोबारका कारण नेपाली उद्योगहरूको उत्पादन ५० प्रतिशतमा झरेको बताउँदै सीमा नियमन कडाइ गर्दै अवैध रूपमा हुने सबै प्रकारका कारोबार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गर्नुभयो ।
रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले नेपालीहरूका प्रमुख चाडपर्वहरू नजिक आएको अवस्थामा पनि नेपाली बजार सुनसान बनेको बताउँदै सीमा क्षेत्रबाट हुने अवैध कारोबार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताउनुभयो । त्यस्तै उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले भन्सारमा कडाइ गर्न अनुरोध गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अवैध कारोबार र भन्सार नाकाहरूमा देखिएको सुस्तताप्रति आफू सचेत रहेको प्रतिक्रिया दिनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अवैध कृयाकलापलाई निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।