बुधबारदेखि फेरी वर्षाको सम्भावना

1.3K

बुधबारदेखि फेरी वर्षाको सम्भावना

आगामी बुधबारदेखि फेरी वर्षाको सम्भावना देखिएको छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि शनिबारसम्म पूर्वीभूभाग हुँदै गण्डकी प्रदेशसम्मका जिल्लाहरुमा वर्षा हुने पूर्वानुमान गरिएको हो ।
बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित रहेको अत्यधिक वर्षा गराउने बादल हाल पूर्वतिर सरिरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा यसको खासै प्रभाव रहने छैन । जसका कारण वर्षाको सम्भावना पनि खासै छैन ।