नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं सुरु हुन्छ । यो वर्ष दशैंको टिकाको शुभसाईत आश्वीन २६ गते बिहानको ११ बजेर ३६ मिनेटमा रहेको छ ।
आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
बडा दसैँको पहिलो दिन आज घरघरमा पूजा कोठा र दशैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिदैछ । पूजा कोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसंगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखि परम्परा रहिआएको छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यसले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।
वडादशैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । फुलपाती भित्र्याउने साईत यहि आश्वीन २४ गते विहान ७ बजेर ११ मिनेटमा रहेको छ । यो वर्ष महाअष्टमी र महानवमी एकैदिन परेको छ । आश्वीन २५ गते कालरात्री र महानवमी एकैदिन मनाईन्छ । मान्यजनबाट टिका–जमरा ग्रहण गर्ने दिन वा विजया दशमी असोज २६ गते रहेको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन पश्चात् टीका–जमरा ग्रहण गर्ने उत्तम साइत बिहानको ११ बजेर ३६ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टीका थाप्दा, टीका थाप्ने व्यक्ति पूर्व फर्किएर मान्यजनबाट टिका लगाउने गरिन्छ । सामान्यतया दशैमा देवीको प्रसाद (टिका–जमरा) लगाउन साइतको आवश्यकता नपर्ने मान्यता पनि रहेको छ । असोज ३० गते दसैंको अन्तिम दिन (कोजाग्रत पूर्णिमा) हो र यसै दिन देखि दशैं सकिन्छ ।