बुटवलमा सज्जराज वैद्यको लाईभ कन्सर्ट हुने भएको छ । युवा पुस्तामाझ लोकप्रिय गायक वैद्यको नेपाल टुर अन्तरगत यहि कात्तिक ३ गते शनिबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा लाइभ कन्सर्ट गर्न लागिएको हो ।
नेपालका प्रमुख शहरमा आयोजना गरिएको लाईभ कन्सर्ट अन्तरगत चितवनमा गरिसकिएको छ भने शनिबार बुटवलमा हुँदैछ । त्यसपछि पोखरा र ईटहरीपछि काठमाण्डौंमा गरिनेछ । शनिबार बुटवलमा हुने कन्सर्टमा ६ हजार बढी दर्शक सहभागि हुने लक्ष्य लिईएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरुको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिनुभयो । दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको छ । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भिआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५ सय, २ हजार र २ हजार ५ सय टिकट दर कायम गरिएको छ ।
दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम, लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरुमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनीयर रहेको आयोजकले जानकारी गराएका छन् । बुटवलमा हुने इभेन्ट सम्पन्न गर्नका लागि ९० लाख बढी खर्च अनुमान गरिएको छ ।
यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने बुटवलको लागि लोकल अर्गनाईजर उत्कृष्ट ईभेन्टस्का उत्कृष्ट कसजूले बताउनु भयो । सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मी मध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन् । वल्र्डलिंकले प्रायोजन गरेको यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।