सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराईँदै छ । पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई म्याद थपका लागि आज आईतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
प्रहरीका अनुसार पूरक मुद्धाका लागि अनुसन्धान अगाडि बढाएको बताए । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लामिछानेलाई पुरक मुद्धा लैजान लागिएको हो । लामिछानेको बयान सकिएको छ । पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो भने शनिबार स्थलमार्गबाट पोखरा लगिएको थियो ।
संसदीय छानविन समितिको प्रतिवेदन आएपछि गत असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरिएको थियो । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ ।
जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । जीवि राई भने अझै फरार छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा छन् । सूर्यदर्शन सहकारीको बचत हिनामिनामा शुक्रबार अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लमिछानेलाई अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुँदा सुरक्षा चुनौती बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीको तैनाथी बढाइएको हो ।
राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरिएको भन्दै रास्वपाले आफ्ना नेता–कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन आह्वान गरेको छ भने भने निश्पक्ष छानबिन गरेर न्याय दिन दबाब दिन भन्दै सहकारी पीडितहरुले पनि राष्ट्रबैंक चोकमा उपस्थितिका लागि आह्वान गरेका छन् ।