गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ पुर्कोट दह निवासी सन्तोेष चुदाराकी श्रीमती कमला चुदाराको उपचारको लागि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवरले आर्थिक सहयोग गर्नुभएको छ । चुदाराकी श्रीमती कमलाको पित्तथैलीमा पत्थरी गरेको र आर्थिक अभावमा उपचारबाट वञ्चित हुनु नपरोस भन्ने उद्देश्यले पालिका अध्यक्ष कुवरले मंगलबार घरमै पुगेर २५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
चुदारा परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र आर्थिक अभावमा उपचार (शल्यक्रिया) नरोकियोस भनेर पालिकाबाट आफूलाई प्राप्त हुने सेवा सुविधा वापतको रकमबाट आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष कुवरले बताउनु भयो ।
पालिका अध्यक्ष कुवरको आफ्नै धर्मपत्नी मनकला कुवर १५ दिनदेखि काठमाण्डौं स्थित सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ । आफ्नै परिवार अस्पतालमा उपचाररत हुँदाहुँदै पनि उहाँले पालिकाका जनताको सेवामा तनमन सहित भौतिक रुपमै सहभागि हुनु भएको वडा नं. ७ का अध्यक्ष सन्तोष केसीले जानकारी गराउनु भयो ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनु भएका पालिका अध्यक्ष कुवर आफू पालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूलाई पालिकाबाट प्राप्त हुने सेवा सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने र उक्त रकम पार्टी समितिको निर्णयमा खर्च गर्ने प्रवन्ध मिलाउनु भएको छ ।
सोही अनुसार पार्टी समितिको निर्णयमा चुदाराकी श्रीमती कमलाको उपचारको लागि २५ हजार रुपैंया प्रदान गरिएको वडा अध्यक्ष केसीले जानकारी गराउनु भयो ।