पूर्ण अधिकार नदिए प्रदेश संरचना खारेज गरिदिए हुन्छ : सभापति पुन

1.3K

पूर्ण अधिकार नदिए प्रदेश संरचना खारेज गरिदिए हुन्छ : सभापति पुन

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रले प्रदेशलाई पूर्ण अधिकार नदिने हो भने प्रदेश संरचना खारेज गरिदिए हुने बताउनु भएको छ । केन्द्र सरकारले प्रदेश सरकार र पार्टीका केन्द्रीय कमिटी तथा शीर्ष नेताहरुले प्रदेश समितिलाई अधिकार नदिएको भन्दै उहाँले अधिकार विहिन प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउनु भएको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संविधानले तोकेका अधिकार प्रदेश सरकारलाई दिन केन्द्र सरकारले कन्जुस्याई गरेको बताए । त्यस्तै प्रदेशको मुख्यमन्त्री र मन्त्री छनोटमा केन्द्रीय समितिले प्रदेश समितिलाई पुरै बाइपास गरेको सभापति पुनले बताउनु भयो ।
‘एकातिर केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार दिन आनाकानी गरिरहेको छ, अर्कोतिर प्रदेशको मुख्यमन्त्री र मन्त्री नियुक्तिमा पनि पार्टीका केन्द्रीय नेताहरुबाटै निर्णय हुन्छ भने प्रदेश सरकार र प्रदेश समितिहरुको औचित्य के ?’ उहाँले भन्नुभयो–‘यदि प्रदेश संरचना चाहिँदैन भने खारेज गरौं, म राजीनामा गरेर मार्गप्रसस्त गर्न तयार छु ।’
केन्द्र सरकार र दलहरुको केन्द्रीकृत मानसिकताका कारण प्रदेश संरचनाप्रति जनस्तरमा वितृष्णा र निराशा बढेको सभापति पुनले बताउनु भयो । लुम्बिनीका पालिकाहरुमा चलिरहेको पालिका संवाद कार्यक्रममा कार्यकर्ता र जनस्तरबाट प्रदेश संरचनाको काम छैन, खारेज गर्नुपर्छ भन्ने बलियो आवाज उठेको बताउँदै उहाँले शिर्ष नेताहरुको केन्द्रिकृत मानसिकताका कारण प्रदेश प्रति नागरिकको अविश्वास बढेको बताउनु भयो ।
सरकारमा रहेका मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना र बजेट खन्याउने परिपाटीले विकासमा असन्तुलन देखिएको भन्दै सभापति पुनले ७५३ वटै पालिकाको गुरुयोजना बनाई आवश्यकताका आधारमा मात्रै योजना छनोट गरिनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले अहिलेको काँग्रेस एमालेको सरकारले नागरिकका समस्या हुनेगरी योजना बनाएर काम गर्न आग्रह गर्नुभयो ।