आज कुकुर तिहार : निष्ठा र साहसको सम्मान

1.3K

आज कुकुर तिहार : निष्ठा र साहसको सम्मान

आज कुकुर तिहार । कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुर तिहार पर्दछ । कुकुरको निष्ठा र साहसको सम्मान गर्दै आज कुकुरको पुजा गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ ।
पौराणिक कथा अनुसार श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने मान्यता छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वानबलि’ दिइएको हो ।
कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ ।
यमराजको दुत कुकुरलाई सम्मान गर्दै पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ । भगवान शिवको एक उग्र रूप कालभैरवलाई कुकुरको साथसाथै चित्रण गरिन्छ । भैरव न्यायका रक्षक मानिन्छन् र उनीहरूलाई साथ दिने कुकुरलाई पनि धर्म र न्यायको प्रतीकका रूपमा मानिन्छ ।
कुकुरको सेवाले राहु र केतु ग्रहजन्य पीडा कम हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत रहेको छ । आधुनिक समयमा कुकुरले मान्छेलाई सुरक्षा दिन्छ र उसको निष्ठा अतुलनीय छ घरपालुवा कुकुरले मालिकको सुरक्षा गर्ने, चेतावनी दिने र सङ्कटमा सहयोग गर्ने अहम् भूमिका खेल्दछ । यी धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूकै कारणले कुकुरको पूजा गरेर उसको योगदानको कदर गर्ने गरिएको हो ।