शनिबारदेखि नेपाल सम्वत ११४५ प्रारम्भ हुँदै : बुटवलमा नगरपरिक्रमा गरिँदै

1.3K

शनिबारदेखि नेपाल सम्वत ११४५ प्रारम्भ हुँदै : बुटवलमा नगरपरिक्रमा गरिँदै

शनिबारदेखि नेपाल सम्वत् ११४५ सुरु हुँदैछ । नेपाल सम्वत् ११४५ को अवसरमा बुटवलको नेवा समाज विकास परिषदले शंखधर सख्वाको प्रतिमामा पुजा गर्नुको साथै प्रवद्र्धनात्मक बजार परिक्रमा गर्ने तयारी गरेको छ ।
नेवा समाज विकास परिषद्ले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल सम्वत्लाई स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले अपनत्व ग्रहण गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकाले नगरपालिकाको यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिँदै बाजागाजा सहित बुटवल नगर परिक्रमा गर्न लागिएको जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा नेवा समाज विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले नयाँ वर्ष नेपाल सम्वत्लाई राज्यस्तरबाट अपनत्व ग्रहण गरी केन्द्र, प्रदेश र स्थानीय सरकारले कार्यक्रम आह्वान गर्नुपर्नेमा बुटवल उपमहानगरपालिकाबाट मात्रै भएपनि सुरुवात भएकोमा उपलब्धिको रुपमा लिईएको बताउनु भयो ।
त्यसै अवसरमा नेवा समाज विकास परिषदले शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नं. ६ नेवाः भवन परिषरमा रहेको शंखधर साख्वाको प्रतिमामा पुजा अर्चना गरी बाजागाजा सहित बुटवल बजार परिक्रमा गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनु भयो ।
त्यसैगरी शनिबार नै बुटवल उपमहानगरपालिकाले पनि नगरपालिकाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । बजार परिक्रमा पछि र्यालीमा सहभागि बुटवल उपमहानगरपालिकाको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुने उहाँले बताउनु भयो ।
नेपाल सम्वत्’लाई सन् २००७ मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्वत्का रूपमा घोषित गरिएको छ । नेपाल सम्वत् औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्वत्को चन्द्रमासिक गणनाको प्रचलन रहेको छ ।
किंवदन्ती अनुसार शंखधर भन्ने एकजना व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई शंखधरले अनैतिक व्यापार गरेको छ भनी उजुरी गरे । उजुरीपछि राजाले शंखधरको सम्पत्ति खोसे । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो र राजाले पश्चताप गर्दै सम्पत्ति फिर्ता गरे । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनताको ऋण मोचन गरिदिए । त्यसकारण शंखधरको सम्झनामा नेपाल सम्वत् थालनी गरिएको भन्ने किंवदन्ती रहेको छ ।