प्राध्यापक डा. रामचन्द्र आचार्यले प्रकाशन गरेको आत्मकथा ‘सहयात्राको एक्लो यात्री’ विमोचन गरिएको छ । आफ्नी धर्मपत्नी सीता आचार्यको स्मृतिमा प्रा.डा. आचार्यले रचना गर्नु भएको उक्त कृति वार्षिक पुण्य तिथीको अवसर पारेर बिहिबार तिलोत्तमा कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।
स्वर्गीय धर्मपत्नी सीतासंगको ५२ वर्षे सहयात्राका क्रममा संगालिएका र छिरलिएका विचारहरुलाई समेटेर पुस्तक तयार गरिएको लेखक आचार्य बताउनु हुन्छ । त्यस अवसरमा बोल्दै समाजसेवी जंगबहादुर शाहले पुरुषको जीवनलाई सवल र सफल बनाउन जीवनसंगिनीको भूमिका महत्वपूर्ण हुने बताउँदै जीवनसंगिनी अर्धाङ्गिनी नभएर वेटर हाफ भएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले प्राध्यापक डा. आचार्यको जीवनका चर्चा गर्दै आचार्यको जीवनको सफलताको संपूर्ण श्रेय स्वर्गीय सीता आचार्यको रहेको भनाई राख्नुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण लगायतले समाजमा प्राध्यापक आचार्यको योगदान र त्यसको लागि उहाँकी धर्मपत्नीको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगरनगरपालिकाका नगरप्रमुख ईतियाक अहमद, सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्मा लगायत प्राध्यापक, साहित्यकार, लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शालिकराम पौड्याल र लेखक दुर्गा पौड्यालले समग्र पुस्तकको बारेमा समिक्षा गर्नुभएको थियो । स्वर्गीय सीताका दाई प्राध्यापक डा. कृष्णनारायण पौडेल उहाँको बाल्यकालदेखि उहाँको वालमनोविज्ञान, अग्रज र भाईबहिनीहरुलाई गर्ने स्यारसुसार लगायतका कुराका बारेमा चित्रण गर्नुभएको थियो भने समाजसेवी रामचन्द्र ढकालले कार्यक्रममा आगन्तुकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।